भारी हिमपात र हिमआँधीको जोखिम, ट्रेकिङ तथा आरोहण नगर्न सोलुखुम्बु प्रशासनको आग्रह
सोलुखुम्बु,११ कार्तिक । आगामी कार्तिक १२ गतेदेखि १४ गतेसम्म भारी हिमपात,हिमआँधी,हिमपहिरो तथा मेघगर्जन र चट्याङको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सर्वसाधारण तथा पर्यटकलाई सतर्क रहन आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागले २०८३ कार्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनलाई आधार मान्दै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरद्वारा मंगलबार जारी अत्यन्त जरुरी सूचनामा पूर्वसतर्कता अपनाउन अनुरोध गरेका हुन्।सूचनामा भारी हिमपात तथा वर्षाका कारण चिसो बढ्नुका साथै ट्रेकिङ रुटहरू जोखिमपूर्ण बन्ने, सडक तथा हवाई यातायात प्रभावित हुने र विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ ।
जोखिमलाई मध्यनजर गर्दै प्रशासनले उक्त अवधिमा सकेसम्म ट्रेकिङ, भ्रमण तथा हिमाल आरोहणका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ। साथै, हिमपात र हिमआँधीको जोखिम भएका क्षेत्रमा आवतजावत नगर्न तथा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
ट्रेकिङ व्यवसायी, यातायात व्यवसायी, होटल व्यवसायी तथा पर्यटकलाई आवश्यक पूर्वतयारी गर्न र स्थानीय प्रशासनसँग नियमित समन्वय तथा सम्पर्कमा रहनसमेत सूचनामार्फत आग्रह गरिएको छ।
सम्भावित विपद्का कारण सञ्चार तथा विद्युत् सेवा अवरुद्ध हुन सक्ने भएकाले आवश्यक तयारी गर्न पनि प्रशासनले अनुरोध गरेको छ। कुनै समस्या वा आपत्कालीन अवस्था उत्पन्न भएमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) को १२३४ वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका जारी सूचनामा सम्भावित जोखिमबाट बच्न सबैलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ।


