हामी कृषि उत्पादनलाई पूर्ण अर्ग्यानिक बनाउने अभियानमा छौं: अध्यक्ष बाँस्तोला



सोलुखुम्बुं । जिल्लाको नेचासल्यान गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकास्तरीय सञ्जीवनी प्राङ्गारिक तथा नमूना कृषि सिकाई केन्द्र स्थापना गरेको छ । आधुनिक कृषि प्रणालीमार्फत रासायनिक मल र विषादीको अन्त्य गर्दै कृषकलाई अर्यानिक उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाको सहयोगमा स्थापित सिकाई केन्द्रले जैविक मल र विषादी उत्पादन तथा प्रयोगमा जोड दिने गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिए ।

जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने किसिमका रासायनिक मल र विषादीहरुको प्रयोग कृषि उत्पादनमा भइरहेकाले त्यसको अन्त्य गर्दै गाउँपालिकालाई पूर्ण अर्ग्यानिक गाउँपालिकाका रुपमा विकास गर्ने उद्देश्य सिकाई केन्द्रको रहेको अध्यक्ष बास्तोलाको भनाइ छ । त्यसका लागि प्राङ्गारिक मल उत्पादनमा केन्द्रले जोड दिने छ । स्वरोजगारीका लागि कृषि क्षेत्र आकर्षणको केन्द्र बन्दै गइरहेका बेला अर्ग्यानिक उत्पादनलाई प्राथमिकता दिंदा त्यसले सहजै बजार पाउने भएकाले पनि कृषि प्राविधिकहरुमार्फत कृषकहरुलाई आधुनिक कृषि प्रणालीको अवलम्बन गराउनु सिकाई केन्द्रको उद्देश्य रहेको अध्यक्ष बाँस्तोलाको भनाइ छ । अध्यक्ष बाँस्तोलाका अनुसार जैविक विषादी उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र शत्रु जीव र मित्र जीवका बारेमा पनि सिकाई केन्द्रमार्फत कृषकहरुले ज्ञान हाँसिल गर्न सक्ने छन् ।
गाउँपालिकाको वडा नं. ५ स्थित निस्पुङमा निर्मित कृषि सिकाई केन्द्रको संयोजकको जिम्मेवारी कृषि विज्ञ डिबी किराँतीले पाएका छन् ।

पाँचै वडाका वडाअध्यक्ष र गाउँपालिकाको कृषि र पशु शाखाका प्रमुख सदस्य रहने गरी गठन गरिएको आठ सदस्यीय समितिले तीन वर्षभित्र तरकारीमा नेचासल्यानलाई आत्मनिर्भर बनाउने गरी काम अघि बढाउने संयोजक किराँतीले रहस्यखबरलाई बताए । अर्ग्यानिक उत्पादनका लागि सुरुमा प्राङ्गारिक मल आवश्यक पर्ने भएकाले सिकाई केन्द्रको पहिलो प्राथमिकता मललाई भएको बताउँदै उनले ६ किसिमका ठोस मल र ६ किसिमका झोल विषादी उत्पादन गरिने बताए । कृषिलाई मल, मलका लागि पशु र पशुका लागि घाँस आवश्यक पर्ने बताउँदै संयोजक किराँतीले भने –‘सुरुमा हामी घाँस उत्पादनलाई प्राथमिकता दिंदैछौं’ । केन्द्रले एकवर्षभित्र विभिन्न किसिमका घाँसहरुका दुईलाख विरुवा उत्पादन गरेर गाउँपालिकालाई दिने किराँतीले बताए । उत्पादित घाँसका विरुवा गाउँपालिकाले कृषकहरुलाई बिक्री वितरण गर्नेछ ।

हाल २० रोपनी जग्गा लिजमा लिएर चारवटा प्लाष्टिकका टनेलमार्फत सिकाइ केन्द्रको काम अगाडि बढाइएको जानकारी दिंदै किराँतीले थप ३० रोपनी जग्गा लिजमा लिने तयारी भइरहेको जानकारी दिए । गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन ग्रीनहाउसभित्र बेर्ना उत्पादन गर्ने र कृषकहरुसम्म पु¥याउने काम केन्द्रले गर्नेछ । त्यसका लागि निकट भविष्यमै १२ वटा ग्रीनहाउसको निर्माण गरिने उनले बताए । नेचासल्यान अदुवा–बेसार जोन हो, आलु र खुर्सानी ब्लक पनि यहाँ छ, त्यसैले अन्य उत्पादनलाई जोड दिइयो भने तीनवर्षभित्र गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।

सो नमूना कृषि केन्द्रको पालिका अध्यक्ष बाँस्तोलाले विहीबार औपाचारिक उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा उपाध्यक्ष कुमारी देवी शर्मा, ५ नम्बर वडाअध्यक्ष राजन राईलगायत स्थानीय किसानहरुको उपस्थिति रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्