प्राकृतिक बिपद् : नागरिकहरुको सहयोगका लागि सक्रियतापूर्वक जुट्न माओवादी केन्द्रको अपिल
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आमनागरिकलाई अपिल गरेको छ । शनिवार विज्ञप्ति जारी गरी माओवादीले विपदको समयमा मानवीयताको उच्च प्रदर्शन गर्दै समस्यामा परेका नागरिकहरूको सहयोगका लागि सक्रियतापूर्वक जुट्न पार्टीले अपिल गरेको हो ।

‘दुई दिनयता परेको भारी वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानले जनजीवन अस्तव्यस्त बनेको छ, मनसुनजन्य विपत्तिका कारण शनिवार धेरै मानवीय क्षति भएको छ । धेरै घाइते र सम्पर्क बाहिर रहेका प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । एकपछि अर्को गर्दै देशभरबाट दुःखद खबर आउने क्रम जारी छ । त्यसैले यो विपत्को समयमा उच्च सतर्कतासहित उद्धारमा खट्न अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘जल तथा मौसम विज्ञान विभागलगायतका सम्बद्ध निकायहरूले एक हप्ता अघिदेखि नै यस किसिमको बर्सात र सम्भावित क्षतिको पूर्वानुमान गरेको भए पनि पूर्वतयारीमा आवश्यक ध्यान दिन नसक्दा ठूलो जनधनको क्षति भएको छ । विपत्तिपूर्ण घडीमा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले तत्काल आवश्यक कदम चाल्न आवश्यक छ ।
यस्तै, दशैँ, तिहार, छठलगायत चाडपर्वलाई ध्यानमा राखेर बन्द रहेका सडकमार्ग यथासक्य छिटो खुलाउन सरकारको ध्यान जानुपर्नेमा माओवादीको जोड छ ।

