सहकारी ठगी : दिल्ली बिमानस्थलबाट पक्राउ परे ढोरपाटनका मेयर नेपाली, जोशीलाई ७ दिन म्याद थप
काठमाडौं। बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।

सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ ।
उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए ।
उता,सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो ।
प्रहरीले अझै १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेको थियो । अदालतले ७ दिन म्याद थप गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
प्रहरी हिरासतमा राखेर जोशीसँग लिइएको बयानमा गितेन्द्रबाबु (जीबी) राइको नेतृत्वमा पोखरामा खुलेको सूर्दर्शन सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको र आफूले त्यो सहकारी देख्दा पनि नदेखेको बयान दिएका छन् । तर, जोशीले गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको वयान दिएका छन् ।
विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले समेत कारबाही गर्न सिफारिस गरेको थियो

