राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत



काठमाडौं।सरकारले आर्थिक वर्ष २०८१/२०८२ लाई कृषि लगानी वर्ष घोषणा गर्ने भएको छ ।

मंगलबार अपराह्न संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले
देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने, एक हजार युवालाई स्टार्ट अप कार्यक्रम सञ्चालन गर्न कर्जा प्रदान गरिने,निजी क्षेत्रसँगको सहकार्यमा पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने घोषणा पनि गरेका छन्।

अन्तराष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरि पर्यटन प्रवर्द्धन गर्ने,पर्यटकीय सम्भावना भएका स्थानीय स्रोत साधनको प्रयोग गरी तीनै तहको समन्वयमा टाकुरा पर्यटन विकास गरिने,छरिएर रहेका साना पुँजी एकत्रित गरी ठुला परियोजना कार्यान्वयन गर्न एवम् बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी लगानी कम्पनीलाई प्रोत्साहन गरिने लगायतका कार्यक्रम राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा समाबेश छन्।

राष्ट्रपति पौडेलले वर्तमान सरकार देशमा समाजवाद उन्मुख आर्थिक, सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्याय सहित समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय सपना पूरा गर्न प्रतिबद्ध रहेको पनि बताए ।

राष्ट्रपति पौडेलले भने, ‘वर्तमान सरकार देशमा समाजवाद उन्मुख आर्थिक, सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय पूरा गर्न प्रतिबद्ध छ । नेपाली जनताको सुख, समुन्नतिका लागि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै जनतामा राज्यप्रति आशा र भरोसा जगाउने गरी सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । संविधान कार्यान्वयन, संघीयताको सवलीकरण, अर्थतन्त्रको सुधार र पुनःउत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेका छन् ।’

राष्ट्रपति पौडेलले रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा पनि सरकारले जोड दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्