सोलुखुम्बुको माप्यदुधकोशीमा असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको रक क्लाईम्बिङ प्रतियोगिता हुने



काठमाडौं।सोलुखुम्बु जिल्लाको माप्यदुधकोशी गाउँपालिकामा अन्तर्राष्ट्रिय रक क्लाइम्बिङ प्रतियोगिता आयोजना हुने भएको छ।

पर्यटन प्रबर्द्धन र बिस्तारलाई प्रमुख प्राथमिकतामा राख्दै आएको माप्यदुधकोशी गाउँपालिकाले वडा नं ५ स्थित महभीरमा आगामी असार ३ र ४ गते सो प्रतियोगिता आयोजना गर्न लागेको हो।

राष्ट्रिय खेलकूद परिषद अन्तर्गतको नेपाल आरोहण खेलकुद संघ मुख्य आयोजक र माप्यदुधकोशी गाउँ पालिका सहआयोजक हुने गरी सो प्रतियोगिता आयोजना गर्ने सम्बन्धि सम्झौतामा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्झौता सम्पन्न भएको छ।सम्झौतामा मुख्य आयोजक आरोहण खेलकुद संघका तर्फबाट अध्यक्ष हरिप्रसाद धरेल र सह आयोजक गाउँपालिकाका तर्फबाट अध्यक्ष बुद्धिकिरण राईले हस्ताक्षर गर्नुभएको छ।

खेलकूदसंगै पर्यटन भन्ने नेपाल राष्ट्रिय खेलकुद परिषदको नीति अनुरुप पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले माप्यदुधकोशी गाउँपालिकामा यो अन्तर्राष्ट्रिय स्तरको रक क्लाइम्बिङ प्रतियोगिता आयोजना गर्न लागिएको संघका अध्यक्ष धरेलले जानकारी गराउनुभएको थियो।वहाँले माप्यदुधकोशीको महभीरमा आयोजना गरिने प्रतियोगिता खेलकुद परिषदको बार्षिक कार्यक्रम अन्तर्गत हुन लागेको जानकारी पनि वहाँले दिनुभयो।

संघले तनहुँको बिमलनगर,ललितपुरको हात्तीवन र दोलखाको सोक्लामा यसअघि रक क्लाईम्बिङ प्रतियोगिताको आयोजना गरेपनि राष्ट्रिय खेलकूद परिषदले आफ्नो बार्षिक कार्यक्रममा समेटेको महभीर रक क्लाईम्बिङ पहिलो प्रतियोगिता भएको बताईएको छ।सो प्रतियोगितालाई खेलकूद परिषदले आफ्नो वेबसाईट मार्फत प्रचार प्रसार गर्ने भएकाले यसले माप्यदुधकोशी गाउँपालिकामा पर्यटन प्रबर्द्धन र बिस्तारमा महत्वपूर्ण सहयोग पुर्‍याउने धरेलको भनाई थियो।

गाउँपालिकाको आर्थिक समृद्धिको मुख्य आधार पर्यटनलाई बनाउने उद्देश्यले माप्यदुधकोशीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउंँदै गाउँपालिका अध्यक्ष राईले अन्तर्राष्ट्रिय रक क्लाईम्बिङ प्रतियोगिता आयोजनाका लागि माप्यदुधकोशी रोजेकोमा नेपाल खेलकुद आरोहण संघलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।वहाँले गाउँपालिका र राष्ट्रिय खेलकुद परिषदबीचको सम्बन्ध जोड्नका लागि संघले पुलको काम गरेको भन्दै अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगिताले खेलकुद पर्यटन बिस्तारमा कोशेढुंगा सावित हुने बिश्वास व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष राईले असार ३ र ४ गते हुने प्रतियोगितामा सहभागी हुने राष्ट्रिय /अन्तर्राष्ट्रिय खेलाडी र खेलप्रेमीहरुलाई स्वागत गर्न आफू आतुर रहेको बताउंँदै उत्साहपूर्ण सहभागीता जनाउन खेलाडीहरुलाई अनुरोध समेत गर्नुभयो।

माप्यदुधकोशी गाउँपालिकाले खेल पर्यटनको बिकास गर्ने उद्देश्यले वडा नं को महभीरमा गत पुसमा रक क्लाईम्बिङ स्थलको उद्घाटनसंगै एक हप्ते रक क्लाइम्बिङ तालिमको आयोजना गरेको थियो।रक क्लाईम्बिङ स्थलको उद्घाटन कीर्तिमानी पर्बतारोही कामिरिता शेर्पाले गर्नुभएको थियो।

यस्तो छ पालिका र संघबीच भएको सम्झौता

प्रतिक्रिया दिनुहोस्