विभिन्न दुर्घटनामा परी १० जनाको मृत्यु
काठमाडौं।विभिन्न दुर्घटनामा परी आईतवार १० जनाको मृत्युु भएको छ।

प्रहरीका अनुसार आइतबार तुल्सीपुर उपमहानगरपालिका-९ अटोभिलेजस्थित सडकमा रा.१ क ५९६ नम्बरको ट्रकको ठक्करबाट सोही उपमहानगरपालिका-९ बेलुवा घर भएका ३८ वर्षीय सेफ अलि खानको आइतबार बिहान मृत्यु भएको छ। सोही ठाउँस्थित आफ्नै इलेक्ट्रोनिक पसल अगाडि ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, सैनामैना नगरपालिका १ बर्माचोकस्थित सडकमा लु १ ख ७४०९ नम्बरको माईक्रो बस र लु.९ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ७० वर्षीय शिवलाल पोख्रेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी उनकै श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता, काठमाडौंको शंखरापुर नगरपालिका-६ साँखुस्थित सख्वाँ डेरिमा पम्पबाट पानी तान्ने क्रममा करेन्ट लागेर काभ्रे मण्डनदेउपुर नगरपालिका-६ सिपाघाट बस्ने ३० वर्षीया मिनिषा कोइरालाको आइतबार बिहान मृत्यु भएको छ ।
विद्युत सट भई अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको सलम्बुटारस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उता,स्याङ्जाको वालिङ नगरपालिका-१० पाठेखोला बस्ने ६८ वर्षीया पविसरा विकको सोही नगरपालिका-९ बैदीस्थित आधिखोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ। डुबेर अशक्त भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै, राजबिराज नगरपालिका-१२ सिंगियौन दमावतीस्थित कोशी नहरमा डुबेर भारत सुपौल थाना कुनौली घर भएका ७० वर्षीय बुधन सदाको मृत्यु भएको छ। उनी सोही ठाउँस्थित ससुराली गाउँ बस्दै आएको बुझिएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी,बर्दिया, बढैयाताल गाउँपालिका-१ सानो डाँफे बटैयास्थित गौमती चौहानको घर आँगनमा बाँके नेपालगंज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्ने ५५ वर्षीय साबिर शेख आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै,काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वर भिमसेनगोला डेरा गरी बस्ने सोहीमहानगरपालिका-९ घर भएका ३९ वर्षीय संजिव नेपाली आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५ स्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै,तनहुँको ब्यास नगरपालिका-१० शियोर रातोमाटे बस्ने ३३ वर्षीय अनिल दाहाल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

