ज्येष्ठ नागरिकका निम्ति विशेष कार्यक्रम आउने



काठमाडौँ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ति विशेष कार्यक्रम आउने बताउनुभएको छ ।

समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज आयोजना गरेको क्यालेण्डर बिमोचन तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समाजसेवा गर्ने समाजसेवी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

कोषका सभापति बसन्तराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिक हामी सबैको अग्रज, पुजनीय व्यक्तित्व भएको हुनाले उहाँहरूप्रतिको दायित्व सबैले निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

पछिल्लो समय आफ्नै सन्तान, आफन्त, समाज, परिवारले समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्री चौधरीले त्यो समस्यालाई समाधान गर्नका निम्ती सन्तानको कमाईको १० प्रतिशत आफ्ना आमा बुवाका निम्ति खर्च गर्नैपर्ने ऐनमा व्यवस्था गरिएको छ । ऐन आएको छ,अब त्यसलाई कार्यविधि बनाएर स्थानीय तहसम्म पठाउनुपर्ने छ । त्यसका निम्ती हामीले तयारी गरिरहेका छौँ’, मन्त्री चौधरीले भन्नुभयो, ‘ज्येष्ठ नागरिक हाम्रा पुजनीय,आदरणीय व्यक्तित्व हुनुहुन्छ । हामी कसैले पनि उहाँहरूलाई बिर्सन हुँदैन ।’

मन्त्री चौधरीले आफ्ना सन्तान हुर्काउँदै गर्दा आफूलाई जन्मदिने मातापितालाई बिर्सन नहुने बताउनुभयो । उहाँले भन्नुभयो,‘चाहे कुनैपनि कारण होस् तर हामीले आफ्ना आमा बुवालाई बेवास्ता गर्नु हुँदैन । सन्तान हुर्काउँदै गर्दा आफ्ना बाआमाप्रतिको जिम्मेवारी भुल्नु हुँदैन ।’

राज्यले ज्येष्ठ नागरिकको सम्मानका निम्ती २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले बृद्धभत्ता कार्यक्रम ल्याएको भन्दै उहाँले अहिले त्यही कार्यक्रम नै सामाजिक सुरक्षाका रुपमा वृद्धि हुँदै गएको बताउनुभयो ।‘त्यो बेलाको समयमा थोरै रकम भएपनि उहाँ (मनमोहन अधिकारी)ले ज्येष्ठ नागरिकको सम्मानका निम्ती सुरुआत गर्नुभएको थियो । त्यो अहिले सामाजिक सुरक्षा भत्ताका रुपमा दिइन्छ । त्यसका निम्ती हामीले स्व.मनमोहन अधिकारीज्यूप्रति कृतज्ञता व्यक्त गर्नैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्