गाउँपालिकाद्वारा गठित समितिसंंगको समन्वयमामात्रै राहत संकलन गर्न थुलुङ दुधकोशीको आग्रह
सोलुखुम्बु।थुलुङ दुधकोधी गाउँपालिकाले गाउँपालिकाको वडा नं ३ पञ्चनमा आगलागीका कारण पीडित परिवारलाई एकद्वार प्रणालीबाट राहत संकलन र बितरण गर्ने निर्णय भएको स्मरण गराउँदै मनोमानी ढंगले आफुखुसी राहत संकलन र बितरण नगर्न आग्रह गरेको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र बस्नेतले आईतवार एक सूचना प्रकाशित गर्दै सो आग्रह गरेका हुन्।
गाउँपालिकासँग कुनै समन्वय नगरी, मनोमानी ढङ्गले फेसबुक,म्यासेन्जर च्याट ग्रुप जस्ता विभिन्न सामाजिक संञ्जाल मार्फत विभिन्न व्यक्तिगत बैंक खाताको क्यूआरकोड (QR Code) उपलब्ध गराई आर्थिक संकलन गरिरहेकोप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बस्नेतद्वारा प्रकाशित सूचनामा जुनसुकै माध्यमबाट राहत संकलन गरेपनि गाउँ कार्यापालिकाको बैशाख २० गतेको निर्णय अनुसार वडा नं. ३ का वडा अध्यक्ष इन्द्रमणी दाहालको संयोजकत्वमा गठित राहत संकलन वितरण तथा समन्वय समितिलाई सो सम्बन्धी जानकारी तत्काल गराउन र प्रचलित कानून बमोजिम अनुमति लिनका लागि अनुरोध गरिएको छ।
यदि कसैले सूचनाको वेवास्ता गरि मनोमानि ढंगले राहत संकलन र बितरण कार्य गरे गराएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी समेत सो सूचनामा दिइएको छ।
सूचनामा भनिएको छ- यस थुलुङ दुधकोशी गाउँपालिकाको विभिन्न वनजङ्गलमा आगो लाग्दा लाखौंको क्षति हुनका साथै मिति २०८१/०१/१९ गतेका दिन वडा दिन वडा नं. ३ को वनमा लागेको आगो बस्तीमा पस्दा ९ घर, ३ गोठ जल्नुका साथै केही चौपाया समेत हताहत भएको घटनाप्रति गाउँपालिका दुःख व्यक्त गर्दछ। घटना लगत्तै मिति २०८१/०१/२० गते बिहान गाउँकार्यपालिकाको आकस्मिक भर्चुअल बैठकको निर्णय अनुसार आगलागी पीडित परिवारलाई सोहीदिन जस्तापाता, भाडावर्तन, लगायत तत्काल आवश्यक पर्ने राहत सामाग्री वितरण गरिएको छ भने मिति २०८१/०१/२४ गते सोमबारका दिन नगद समेत वितरण हुने जानकारी गराइन्छ । यस दुःखद घटनाका पीडित परिवारलाई सहयोगका लागि राहत संकलन र वितरणलाई सहज, पारदर्शी र सुरक्षित बनाउन एक द्वार प्रणाली (One Door System) प्रक्रिया अबलम्बन गर्ने कार्यपालिकाको निर्णय अनुसार विपदको घडीमा पीडित परिवारलाई सहानुभूति सहित मनोबल उच्च बनाउने गरी सहयोग गर्नुहुने विभिन्न संघ संस्था, व्यक्ति तथा सरकारी कार्यालयलाई धन्यवाद ज्ञापन गर्दछौ । यद्यपि विभिन्न व्यक्ति, संस्था र समिति मार्फत गाउँपालिकासँग कुनै समन्वय नगरी, मनोमानी ढङ्गले Facebook, Messenger Chat Group जस्ता विभिन्न सामाजिक संञ्जाल मार्फत विभिन्न व्यक्तिगत बैंक खाताको क्यू. आर. कोड (QR Code) उपलब्ध गराई आर्थिक संकलन गरिरहेकोमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । जुनसुकै माध्यमबाट राहत संकलन गरेपनि गाउँ कार्यापालिकाको मिति २०८१।०१।२० को निर्णय अनुसार वडा नं. ३ का वडा अध्यक्ष श्री इन्द्रमणी दाहालज्यूको संयोजक्तवमा गठित राहत संकलन वितरण तथा समन्वय समितिलाई सो सम्बन्धी तत्काल जानकारी गराउनुहुन र प्रचलित कानून बमोजिम अनुमती लिनुहुन अनुरोध छ। यस गाउँपालिकाबाट अग्नि पीडितलाई सहयोग गर्नुहुनेहरुको नामावली तथा सहयोगको विवरण सार्वजनिक गरिने भएकाले सबैले स्पष्ट विवरण उपलब्ध गराउनुपर्ने छ भने गठित समिति मार्फत संकलित राहत वितरण गर्नुहुन पनि सम्बन्धित सबैलाई अनुरोध छ। यदि कोही कसैले यो सूचनाको वेवास्ता गरि मनोमानित ढंगले सो कार्य गरेको गराईएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराईन्छ ।
सम्पर्कको लागि :- संयोजकः श्री इन्द्रमणी दाहाल (९८६९२२५०१४) सदस्य:- श्री भोजराज कार्की (९८५२८५१००७) सदस्य :- श्री युजन बस्नेत (९८५२८३१८४८)

