माप्य दुधकोशी : ‘एभरेष्ट भ्यू ट्रेल म्याराथन प्रतियोगिता’को सम्पूर्ण तयारी पूरा



सोलुखुम्बु। पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले आयोजना गर्न लागेको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ।

१२ वैशाख बिहानको ७ बजे सुरु हुने प्रतियोगिताको प्राविधिक तयारीका लागि म्याराथन रुटमा रेकी लगाउने, रिबन राख्ने, पानी खाजाका साथै प्राथमिक उपचारका लागि स्वास्थ्य संयोजक खटाउनेदेखि ४७ किलोमिटरभित्र स्वयंसेवक खटाउनेसम्मका काम पुरा भएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा धाविका मिरा राई इनिसिएटीभ संस्थाको टोलिले सिलगुडी डाँडा पुगेर आइतबारबाट प्राविधिक तयारीका काम सुरु गरेको थियो।

प्रतियोगितामा नेपाल लगायत अन्य मुलुकका धावकहरुले समेत भाग लिन पाउने आयोगले जनाएको छ। सहभागी धावक महिला पुरुषले आफ्नो उमेर समुह हेरेर भाग लिन पाउँनेछन। १८ देखि २९, ३० देखि ४९ र ५० देखि ६५ बर्ष उमेर समूहका तीन समुह विभाजन गरि सबैको प्रतिनिधित्व सहित उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने तिनै उमेर समूहका महिला पुरुष धावकलाई २० हजार, १५ हजार, १० हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईको भनाई छ।त्यस्तै सबै उमेर समूहमध्येबाट महिला पुरुष प्रथम, द्वितीय र तृतीय बिजेता धवाकलाई क्रमश १ लाख, ७५ हजार,५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

गाउँपालिकाको रङ्गशाला (कोर्कु) देखि सुरु भएर रक क्लाईबिङ सेन्टर, सिलगुडी, घुम्नेमेरा गुम्बा, कुधम हाईक्याम्प, योतेल्म्य पर्यटन सेल्टर, दिलुङ, खस्कुम, खास्ताप, पर्यटन सूचना केन्द्र र प्लाम्दु हुदै रङ्गशाला (कोर्कु) पुगेर म्याराथन अन्त्य हुनेछ।edited

प्रतिक्रिया दिनुहोस्