पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि : प्रधानमन्त्री
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेकथ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्दै उनले ट्राफिक र सडक सुरक्षामा सुधार गरी संघीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख शहरहरूबीचको सहज यातायात सञ्जालमा योगदान पुर्याउने बताए ।
‘सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ’उनले भने-‘यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङ सम्बन्धी दस्तावेज निर्माण हुनेछ, । यसले नेपाललाई सुरूङ युगमा पुर्याउन महत्त्वपूर्ण योगदान गर्नेछ ।’
उनले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताए ।प्रधानमन्त्री प्रचण्डले पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम साथै वर्षायाममा हुने पहिरोको उच्च जोखिमलगायतका समस्याहरू समाधान गर्न सुरुङमार्गको कल्पना गरिएको बताए ।
उनले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज भएको विश्वास व्यक्त गरे । नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने पनि उनको भनाई छ ।राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा उनको जोड थियो ।file foto

