बैशाख ६ र ७ गते बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाईंदै
काठमाडौं।सरकारले वैशाख पहिलो हप्ता राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने भएको छ।

६ र ७ वैशाखमा भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम तय गरेको हो।
‘सरकारले योपटक १ देखि ५ वर्षसम्मका करिब २९ लाख बालबालिकालाई जुकाको औषधि र ६ देखि ५९ महिनासम्मका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाउने लक्ष्य राखेको छ’‚ पोषण शाखा प्रमुख थापाले भने।
जसका लागि देशभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले ७ वटै प्रदेशका स्थानीय खोप केन्द्रबाट बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउनेछन्। भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने यो कार्यक्रममा सरकारको झण्डै ९ करोड ५१ लाख रुपैयाँ खर्च हुने अनुमान छ। प्रत्येक वर्ष दुई चरणमा खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधि पहिलो चरण कात्तिकमा र दोस्रो चरण वैशाख पहिलो हप्ता गरी एक वर्षमा दुईपटक खुवाउने नियमित कार्यक्रम हो।
गत कात्तिकमा भिटामिन ‘ए’ कार्यक्रमको पहिलो चरणअन्तर्गत करिब ९० प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको थियो। यसैगरी ८७ प्रतिशत बालबालिकाले जुकाको औषधि दिइएको थियो। भिटामिन ‘ए’को कमीको रोकथाम र उपचार गर्ने उद्देश्यले वि.सं. २०५० सालबाट ८ जिल्लाबाट भिटामिन ‘ए’ कार्यक्रम शुरु भएको थियो। अहिले यो कार्यक्रम देशभरका ७७ जिल्लामै लागू भएको छ।
यसैगरी वि.सं. २०५६ सालबाट १३ जिल्लाबाट परजीवी (जुका) नियन्त्रण कार्यक्रम लागू भएको थियो । यो कार्यक्रम पनि अहिले ७७ वटै जिल्लामा लागू छ।

