तीन पार्टी एकीकरण भएर जन्म्यो राष्ट्रिय मातृभूमि पार्टी
काठमाडौँ । नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टीबीच एकीकरणको घोषणा गरिएको छ।आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार
तीन पार्टीबीच एकीकरणपछि सो पार्टीको नाम राष्ट्रिय मातृभूमि पार्टी राखिएको छ्।

पत्रकार सम्मेलनमा राष्ट्रिय मातृभूमि पार्टीका उपमहासचिव लक्ष्मीदत्त भट्ट, उपाध्यक्षहरु, राजकुमार यादव, टुलराज बस्याल, अनिता श्रेष्ठ रामकृष्ण ढकाल,महासचिव गोविन्द गिरी,सचिवहरु यज्ञराज बस्याल, खगेन्द्र बस्नेत, मनिराम लामिछाने, इन्द्रनारायण न्हुँच्छे,तेजेन्द्रकुमार प्रसाईँ,सहसचिवहरु रामकुमार राई,लक्ष्मण फुँयाललगायतको उपस्थिति रहेको थियो ।
गत फागुन २३ गते निर्वाचन आयोगले तीन दल मिलेर नयाँ दल दर्ता भएको प्रमाणपत्र दिएको छ । राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डेले देशमा विकृति र भ्रष्टाचार बढेको बताए । उनले देशमा जतिपनि भइरहेका नराम्रा कामको कारक तत्व राजनीति देखिएकाले आफूहरु सशक्त रुपमा आएको बताए । वरिष्ठ उपाध्यक्ष रोमलाल गिरीले नयाँको नाममा उदाएको दलहरुले केही काम गर्न नसकेको बताए । उनले नयाँ दलहरुलाई फ्याराको संज्ञा दिए । राष्ट्रिय मातृभूमि पार्टी देशभक्त दलको रुपमा स्थापित हुने उनको दाबी छ ।
राष्ट्रिय मातृभूमि पार्टी नेपालले शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने धारणा अगाडि सारेको छ । पार्टीको चुनाव चिन्ह तीन तारासहित काखमा बच्चा लिएकी आमा रहेको छ ।जनतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा सुशासन र समावेशी सिद्धान्तका आधारमा समृद्ध, समतामूलक र न्यायपूर्ण समाजको निर्माण गरी सुविधाराज्य स्थापना गर्ने पार्टीको दूरदृष्टि रहेको बताइएको छ ।

