बिभाजनको संघारमा नागरिक उन्मुक्ति पार्टी
काठमाडौं।बर्तमान सत्तागठबन्धनलाई समर्थन गर्ने बिषयमा उत्पन्न मतभेद बढ्दै जाँदा नागरिक उन्मुक्ति पार्टी बिभाजनको संघारमा पुगेको छ।

एमाले नेतृत्वको केन्द्रीय गठबन्धनलाई समर्थन गर्ने संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ र नगर्ने अध्यक्ष रेशम चौधरीको अडानले पार्टी बिभाजनको संघारमा पुगिरहेका बेला बुधबार बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले आगोमा घ्यू थप्ने काम गरेको छ ।
अध्यक्ष रेशम चौधरी जापान भ्रमणमा रहेका बेला रञ्जिताको अध्यक्षतामा बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने सहित संघ देखि प्रदेशसम्म बर्तमान गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेपछि यसले पार्टीभित्र ठुलो तरंग पैदा गरेको छ।
केन्द्रीय समिति बैठकले सुदूरपश्चिममा कांग्रेस नेतृत्वको वर्तमान सरकारबाट समर्थन फिर्ता लिने निर्णय सार्वजनिक गरेलगत्तै प्रदेश सभामा उक्त पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले उक्त निर्णय मान्य नभएको प्रतिक्रिया दिएका छन् ।‘रेशम चौधरी अनुपस्थित बैठकको निर्णय मान्य हुन सक्दैन,’ संसदीय दलका नेता चौधरीले भने, ‘उक्त बैठकमा कोरम पुगेको जस्तो पनि लाग्दैन । एक जना सांसद लक्ष्मण कशोर चौधरीले त नोट अफ डिसेन्ट नै लेख्नु भएको छ ।’
दलका नेता चौधरी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री हुन् । नागरिक उन्मुक्तिका कूल सात सांसदमध्ये कांग्रेस नेतृत्वको वर्तमान सरकारमा पाँच जना मन्त्री छन् । उनले अहिलेको सरकारबाट समर्थन फिर्ता नहुने बताए ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतमा बसको बैठकमा नोट अफ डिसेन्ट लेखेको भनिएका लक्ष्मणकिशोर चौधरीसहित १२ जनाको उपस्थिति रहेको बुझिएको छ । केन्द्रीय समिति २१ सदस्यीय छ ।

