युएन वुमन सम्मेलनबाट फर्किइन मन्त्री चौधरी



काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्कनु भएको छ ।

तीन वर्षपछि नेपालबाट युएन वुमनको सम्मेलनमा सहभागी भएर मन्त्री चौधरी शुक्रबार स्वदेश फर्कनु भएको हो।महिलाका सामाजिक, आर्थिक, न्यायिक समानता लगायतका विषयमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष विश्व सम्मेलन गर्ने गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बोल्दै मन्त्री चौधरीले सम्मेलनले पारित गरेका एजेण्डाहरुले महिला समानताका पक्षमा टेवा पुग्ने बताउनुभयो । सम्मेलनमा नेपालले आफ्ना एजेण्डाहरु बलियो रुपमा राखेको बताउँदै चौधरीले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लैङिगक समानताका चुनौतिहरु सामना गर्न विश्वको ध्यानाकर्षण गराइएको जिकीर गर्नुभयो । ‘भ्रमण फलदायी भएको छ । लैङिगक समानता, सामाजिक, आर्थिक क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धीहरु, बर्तमान अवस्थामा ब्यहोर्नु परेका चुनौतिहरु बारे विश्वमाझ जानकारी दिन सके । सम्मेलनमा तीन वर्षदेखि मन्त्री स्तरीय प्रतिनिधिमण्डलको भ्रमण भएको थिएन । समग्रमा भन्नुपर्दा भ्रमण फलदायी र उपलब्धीमुलक भएको छ ।’ उहाँले भन्नुभयाे ।

चौधरीले एक हप्ताको भ्रमणमा प्रवासी नेपाली मञ्चले आयोजना गरेको साइड कार्यक्रममा सहभागी हुँदै प्रवासमा रहेका नेपाली नागरिकले भोग्नु परेका समस्या र चुनौतिका बारेमा सात्क्षात्कार हुँदै समाधानका लागि पहल गर्ने पनि बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्