कथाकार नरेन्द्रराज पौडेललाई मैनाली कथा पुरस्कार प्रदान गरिने



काठमाडौं । साहित्यिक पत्रकार संघले ४३ औं कथा दिवसको अवसरमा कथाकार नरेन्द्रराज पौडेललाई एकाउन्न हजार राशीको मैनाली कथा पुरस्कार –२०८० प्रदान गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”को संयोजकत्वमा पद्यावती सिंह र प्रा. डा. गोविन्दमान सिंह कार्की सदस्य रहेको सिफारिस समिति रहेको थियो ।

वि.सं.२०३८ सालदेखि निरन्तर कथा दिवस मनाउँदै आएको साहित्यिक पत्रकार संघले सोही दिन विशेष लघुकथा वाचनको आयोजनासमेत गर्ने भएको छ । 

यसैगरी मैनाली कथा पुरस्कार २०८० बाट सम्मानित हुनुहुने पौडेलका मेटिएका रेखाहरु (२०५२), फट्टिकको खम्बा (२०५३), पर्खाल बाहिर (२०५८), स्वप्नयात्रा (२०६२), रोबोटका आँखा (२०७३) लगायतका कथा कृतिहरूसहित कविता, हास्यव्यङ्गसंग्रह, समीक्षा सङ्ग्रह, नियात्रासङ्ग्रहका गरि दुई दर्जन बढी कृतिहरु प्रकाशित रहेका छन् । 

मैनाली कथा पुरस्कारबाट यस अघि कथाकारहरू क्रमशः भाउपन्थी, मनु ब्राजाकी, मोहनराज शर्मा, माया ठकुरी, कुमार ज्ञवाली, विश्वम्भर चञ्चल, जगदीश घिमिरे, प्रेमा शाह, खगेन्द्र सङग्रौला, पद्मावती सिहं, भागिरथी श्रेष्ठ, सनत रेग्मी, सन्तोष भट्टराई, मुरारी अधिकारी (क), राजव, इन्दिरा प्रसाई, ध्रुव सापकोटा, नगेन्द्रराज शर्मा, मुरारी अधिकारी (ख), नारायण ढकाल, माधव भँडारी, गोविन्द गिरी प्रेरणा, गोपाल पराजुली, महेशविक्रम शाह, किशोर पहाडी, इस्माली, अविनाश श्रेष्ठ, डा. राजेन्द्र विमल, विन्द्या सुब्बा लगायत सम्मानित भइसक्नु भएको छ ।

यसैगरी मैनाली कथा सम्मानबाट यस अघि कथाकारहरू क्रमशः मदनमणि दीक्षित, गोविन्दबहादुर मल्ल गोठाले, परशु प्रधान, डा.ध्रुवचन्द्र गौतम, मोहनराज शर्मा, डा. दयाराम श्रेष्ठ “सम्भव”, डा. बेन्जु शर्मा, हरिहर खनाल, अनिता तुलाधर, धनमान श्रेष्ठ, लोकेन्द्रबहादुर चन्द, विजय सागर र घनश्याम पुडासैनी लगायत सम्मानित भइसक्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्