भत्कियो कांग्रेस नेतृत्वको गठबन्धन,संसद बैठक २४ गतेसम्मका लागि स्थगित



काठमाडौं।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी सहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ।

पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक–एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन्। नयाँ मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी र रास्वपाको बैठक जारी छ।

एमालेको तर्फबाट महासचिव शंकर पोखरेल, अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन्।

माओवादीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी छन्। रास्वपाबाट सभापति रवि लामिछाने बैठकमा सहभागी छन्। 

एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ। माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ। अहिलेको बैठकमा जनता समाजवादी पार्टी जसपा बैठकमा सहभागी छैन्। यद्यपी उसले आकस्मिक बैठक बोलाएको छ। 

हिजो अबेर रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने गरि छलफल भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् । 

यसैबीच सत्ता गठबन्धनमा आएको फेरबदलसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयले सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर स्थगित गरेको हो ।

विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्