तीन उत्कृष्ट माध्यमिक विद्यालय नेचासल्यान गाउँपालिकाद्वारा पुरस्कृत
डिल्ली शर्मा,सोलुखुम्बु।सोलुखुम्बुको नेचासल्यान गाउँपालिका भित्रका तीनवटा विद्यालयलाई पुरस्कृत गरिएको छ।

गाउँपालिकाभित्रका विद्यालयहरुमा शैक्षिक सुधारका सन्दर्भमा सरोकारवालाबीच शनिबार आयोजना गरिएको एकदिने शैक्षिक अन्तक्रिया कार्यक्रममा विद्यालय अनुगमन समितिको सिफारिसमा प्रथम,द्वितीय र तृतीय हुने विद्यालयलाई पुरस्कृत गरिएको हो।अनुगमन समितिको सिफारिसका आधारमा प्रथम हुने गणेस्थान माबिलाई नगद रु ५० हजार,द्वितीय हुने हिमाल दर्शन माबि
४५ हजार,र तृतीय हुने बिपी माबिलाई ४० हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको थियो।
गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यता तथागाउँपालिका सामाजिक बिकास समितिका संयोजक इन्द्रबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अघिल्लो शैक्षिक सत्रको एसइई परीक्षामा उच्च जिपिए प्राप्त गर्ने केदार माध्यमिक विद्यालयका छात्र र छात्रालाई नगद २५ हजारको साथमा प्रसंसापत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राईले शैक्षिक गुणस्तरीयता, शिक्षामा समान पहुँच र समान अबसर सृजना गर्ने उदेश्यले अन्तरक्रियाको आयोजना गरिएको जानकारी दिंदै आगामी शैक्षिक सत्रको कार्यक्रम निर्माण गर्न समेत यसले सहयोग पुर्याउने बिश्वास व्यक्त गरे।
गाउँपालिका उपाध्यक्ष बिना राई,पालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक,विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष,गाउँ शिक्षा समितिका पदाधिकारी,शिक्षकहरुका पेशागत संगठनका स्थानीय प्रतिनिधिहरु समेतको उपस्थितिमा सो अन्तरक्रिया सम्पन्न भएको हो।

