नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु



डिल्ली शर्मा,सोलुखुम्बु।नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ । बलाधिकृत रथी श्री अशोकराज सिग्देलले सि.सं १२ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको एक समारोहकाबीच शुभारम्भ गरेका हुन ।

तालिम शुभारम्भको अबसरमा तालिमका सहभागी शिक्षार्थीहरुलाई सम्बोधन गर्नुहुँदै रथी सिग्देलले तालिमको दौरान विविध सैनिक विषयका साथै राष्ट्रियहित,त्यसको सम्बर्द्धन र प्रबर्द्धन गर्ने तरिका, राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिजस्ता अति महत्त्वपूर्ण विषयहरूको बारेमा ज्ञान आर्जन हुने बताउनु भयो।

उहाँले तालिममा सहभागी अधिकृतहरू निकट भविष्यमा उच्च तहका विभिन्न महत्त्वपूर्ण नियुक्तिमा रही कार्य गर्नुपर्ने र त्यस्ता नियुक्तिमा रहने पदाधिकारीहरुको सल्लाह, सुझाव एवम् उनीहरुले लिनुपर्ने निर्णयहरू राष्ट्रिय सुरक्षासँग जोडिने भएकाले कुनै पनि विषयको विश्लेषण गर्दा तटस्थ रही राष्ट्र र संस्थाको हितमा निर्णय गर्न तथा योजनाहरू बनाउन सुझाव दिनुभयो । उहाँले तालिम पश्चात् सहभागी अधिकृतहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सैनिक तथा गैर सैनिक व्यक्तिहरुसँगै मिलेर काम गर्न सक्ने क्षमता, ज्ञान र आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा उच्चस्तरको उक्त तालिममा ३५ जना महासेनानी दर्जाका शिक्षार्थीहरूको सहभागिता रहेको छ । नेपाली सैनिक वार कलेजमा आयोजित तालिमको शुभारम्भ समारोहमा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्