बन संरक्षणमा उपभोक्ता समितिको भूमिका महत्वपूर्ण : अध्यक्ष राई



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको पालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

पालिका भित्रका ३७ वटा सामुदायिक वनका पदाधिकारी जनप्रतिनिधि लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सामुदायिक वनको अवस्था र समस्या लगायतको विषयमा छलफल भएको बताइएको छ । यस्तै संघीय संरचना अनुसार सामुदायिक वन सम्बन्धि नीति नियम लगायतको विषयमा डिभिजन वन कार्यालय सोलुखुम्बुका वन अधिकृत मनराज राईले प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा उठेका सवालका विषयमा जवाफ दिंदै डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख रामजी शाहले जिल्लामा नै पहिलो पटक थुलुङ दुधकोशी गाउँपालिकाले प्रभावकारी कार्यक्रम आयोजना गरेको बताउँनुभयो । बुझेर मात्रै वन ऐन अनुसार काम गर्न सामुदायिक वनका पदाधिकारीहरुलाई उहाँले सुझाव दिनुभयो ।

यस्तै गाउँपालिका अध्यक्ष असिम राईले वन संरक्षणमा समितिको भुमिका उल्लेखनीय रहेको भन्दै नीति अनुसार चुस्तदुरुस्त काम गर्न निर्देशन दिनुभयो । वनलाई व्यवसायिकतामा जोड्ने कार्यक्रमबारे योजना बनिरहेको भन्दै अध्यक्ष राईले वन विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्