माओवादी केन्द्रले तराई–मधेस जनजागरण अभियान सञ्चालन गर्ने



काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले चैत्र १५ गतेदेखि चैत्र मसान्तसम्म तराई–मधेस जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित)सञ्चालन गर्ने भएको छ।

सो पार्टीको फागुन १०, १३, १५ र १६ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न पार्टी स्थायी कमिटी बैठकले सो निर्णय गरेको जनाईएको छ।बैठकले २०८१ साल वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि स्थायी समिति बैठकपछि मातहतका कमिटीलाई पठाइएको ५ बुँदे सर्कुलरमा उल्लेख गरिएको छ।

अभियानको नेतृत्व सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने र त्यसको व्यवस्थापन पनि सम्बन्धित प्रदेशहरूले गर्ने सर्कुलरमा उल्लेख छ । अभियानको रुट, नारा र कार्यक्रमिक रूपरेखाका बारेमा निर्देशिका जारी गरिने बताइएको छ।यस्तै बैठकबाट माओवादीले सङ्गठनात्मक कार्यबिभाजन पनि गर्ने निर्णय गरेको छ ।

जसअनुसार पूर्व १ नं प्रदेश (कोशी)  इन्चार्जमा केन्द्रीय उपमहासचिव हरिबोल गजुरेल, सह–इन्चार्ज केन्द्रीय सदस्य सावित्री कुमार काफ्ले चयन हुँदा मधेस प्रदेश इन्चार्जमा केन्द्रीय सचिव लीलामणि पोख्रेल, सह–इन्चार्ज स्थायी समिति सदस्य विश्वनाथ शाह चयन भएका छन् । 

यसैगरी बागमती प्रदेश इन्चार्जमा केन्द्रीय उपाध्यक्ष  अग्नि सापकोटा, सह–इन्चार्ज स्थायी समिति सदस्य शशी श्रेष्ठ, गण्डकी प्रदेश इन्चार्जमा केन्द्रीय सचिव दीनानाथ शर्मा, सह–इन्चार्ज केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनी प्रदेश इन्चार्जमा केन्द्रीय सचिव चक्रपाणि खनाल, सह–इन्चार्ज स्थायी समिति सदस्य कुल प्रसाद के.सी. चयन भएका छन् । 

यस्तै कर्णाली प्रदेश इन्चार्जमा स्थायी समिति सदस्य  काली बहादुर मल्ल, सह–इन्चार्ज केन्द्रीय समिति सदस्य टेक बहादुर बस्नेत, सुदूरपश्चिम प्रदेश इन्चार्जमा केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेल, सह–इन्चार्ज केन्द्रीय सदस्य  बिना मगर, उपत्यका विशेष प्रदेश इन्चार्जमा केन्द्रीय सचिव हितमान शाक्य, सह–इन्चार्ज स्थायी समिति सदस्य जयपुरी घर्ती, सम्पर्क समन्वय प्रदेश इन्चार्जमा हालको लागि केन्द्रीय कार्यालयले हेर्ने र सह–इन्चार्ज स्थायी समिति सदस्य  यशोदा सुवेदी चयन भएकी छन् । 

यसैगरी सार्क प्रवास प्रदेश (भारत लगायतका दक्षिण एसियाली मुलुकहरू)  इन्चार्जमा केन्द्रीय सदस्य  लक्ष्मण पन्त, एसिया प्रवास प्रदेश (मध्यपूर्व लगायत एसियाका बाँकी मुलुकहरू) इन्चार्जमा केन्द्रीय उपाध्यक्ष  पम्फा भुसाल, पश्चिम प्रवास प्रदेश (युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, अस्ट्रेलिया) इन्चार्जमा केन्द्रीय सचिव सुरेन्द्र कुमार कार्की (राम कार्की) चयन भएका छन् । 

नेता जनार्दन शर्माको फरक मतका बिच बिना मगरलाई जिम्मेवारी कायमै राखिएको छ । तर, बागमतीमा नारायण दाहाललाई दिइएको छैन । नेता शर्माले स्थायी समिति बैठकमा आफ्नो फरक मत राखेका थिए । 

यसैबीच,कार्य विभाजनका सन्दर्भमा बाँकी स्थायी समिति सदस्यहरूको विगतमा रहँदै आइरहेको प्रदेशहरूमा नै कार्यक्षेत्र कायम रहने भएको छ । उनीहरूको सोही प्रदेशको इन्चार्जहरूको नेतृत्वमा ठोस सांगठानिक कार्य विभाजन गर्ने सर्कुलरमा उल्लेख छ ।  साथै केन्द्रीय कार्यालयले तय गरे अनुसारको मोर्चा वा विभागीय प्रमुखको जिम्मेवारी कायम रहने पनि जनाइएको छ । 

यस्तै केन्द्रीय सदस्यहरूको कार्य विभाजन विगतमा रहँदै आइरहेको प्रदेशहरूमा नै कायम गरिएको छ । केन्द्रीय सदस्यहरूको ठोस कार्य विभाजन सम्बन्धित प्रदेशको इन्चार्जको नेतृत्वमा जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय पालिकाहरूमा जिम्मेवारी विभाजन गर्ने  बताइएको छ  । यस्तै तीन वटै तहमा रहेका जनप्रतिनिधिको कार्य विभाजन गर्दा संघीय संसद, प्रदेश सभा र स्थानीय पालिकाहरूमा नै जिम्मेवारी केन्द्रित गर्ने माओवादीले जनाएको छ । 

यस्तै विधान अधिवेशनबाट पारित भएको विधान सम्बन्धमा प्राप्त भएका सुझावहरू समेटेर आगामी फागुन २८ गते बस्ने स्थायी समितिको बैठकमा प्रस्तुत गरी अन्तिम रूप दिने निर्णय भएको छ । यस्तै पार्टी स्कुल विभागले तय गरेको कार्यतालिका अनुसार पार्टी स्कुल सञ्चालन गर्ने निर्णय भएको छ । 

प्रतिक्रिया दिनुहोस्