मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाईन निर्माणको काम तीब्र



बारा । नेपाल आयल निगमले मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाईन निर्माणको कामले तीब्रता पाएको छ।सम्झौतामा उल्लेख भए बमोजिम मार्च अन्तिमसम्म सम्पन्न गर्ने गरी दोश्रो चरणको काम तीब्र गतिमा अगाडी बढेको मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले जानकारी दिए।

तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्ने नेपाल आयल निगम र भारतीय आयल निगमका प्रतिनिधिहरूले हालैमात्र अम्लेखगञ्ज डिपोको संयुक्त रूपमा स्थलगत अनुगमन गरेर ठेकेदार कम्पनीलाई निर्देशन दिएसंगै कामले तीब्रता पाएको उनको भनाई छ । ‘आयोजना सुरु भएको १४ महिनामा ६० प्रतिशत मात्रै काम सम्पन्न  भएपछि बाँकी ४० प्रतिशत काम समयमै सम्पन्न हुनेमा आशंका व्यक्त गर्दै अनुगमनमा आएको टोलीले ठेकेदार कम्पनीलाई निर्देशन दिएको हो’-उपाध्यायले भने।

अनुगमनमा भारतीय आयल निगमका कन्ट्री मेनेजर निरुपम रायजादा, आईओसीका प्रोजेक्ट मेनेजर धर्बेन्द्र कुमार सिंह, नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक दीपक बराल लगायतको टोली सहभागी थियो ।

जनशक्ति थप गरेर या दिन रात २४ सै घण्टा काम गरेर भएपनि तोकिएको समयभित्र काम सम्पन्न गर्नुपर्ने आइओसी र एनओसीको दुवै पक्षको निर्देशन रहेको उपाध्यायले बताए।

पाइप लाइनको दोस्रो चरणको पूर्वाधार निर्माणको क्रममा २ अर्ब १४ करोड भारतीय रुपैयाँ लगानी हुने प्रादेशिक प्रमुख उपाध्यायले जानकारी दिए। जसमध्ये  ६० करोड भारतीय रुपैयाँ भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५४ करोड भारतीय रुपैयाँ नेपाल आयल निगमको लगानी रहेको छ । 

भारतीय आयल निगमले पाइपलाईको दोस्रो चरणको आइओसीले गर्नुपर्ने सम्पूर्ण काम  टेन्डर प्रकियाबाट लिखिता इन्फ्रास्ट्रक्चर कम्पनीलाई दिएको छ । हाल अम्लेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्याङ्की, २ वटा फायर वाटर ट्याङ्की निमार्णको काम भइरहेको छ । नेपाल आयल निगमको तर्फबाट ५०–५० लाख लिटरको २ वटा ट्याङ्की निर्माण गर्दै छ जसमा एउटा पेट्रोल र अर्कोमा डिजेल भण्डारण गरिनेछ । 

त्यस्तैगरी आईओसीले ४१–४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोलको ट्याङ्की निर्माण गरेको छ  । साथै अहिले अम्लेखगञ्ज डिपोभित्र आन्तरिक पाइप बिछ्याउने काम धमाधम भइरहेको छ । 

मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइनको पहिलो परियोजना अन्तर्गत २०७६ भदौदेखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । 

दोस्रो चरणको काम सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको हो ।यसअघि डिसेम्बरभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरेर जनवरी २४ भित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने भनिएको सो परियोजनाको म्याद मार्चसम्म थपिएको थियो । भारतीय आयल निगमसँगको सम्झौता अनुसार पाइपलाइनको दोस्रो चरणको सम्पूर्ण काम लिखिता इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । 

तोकिएको समयभित्र काम सम्पन्न भए अगामी मार्च भित्र पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात हुने निगमले जनाएको छ । दोस्रो चरणको काम सम्पन्न भएर पाइपलाइनबाट पेट्रोल आयात हुँदा निगमको इन्धन खर्च र ढुवानी भाडा बापत मात्रै प्रतिमहिना १५ करोड वार्षिक १ अर्ब ८० करोड बचत हुने निगमको दावी छ।

भारतको बरौनीदेखि अम्लेखगञ्जसम्म पेट्रोल ढुवानी गर्दा प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ खर्च हुन्छ भने पाइपलाइनबाट ल्याउन सके प्रतिलिटर ५० पैसामात्रै खर्च हुने निगमले जनाएको छ ।

अम्लेखगञ्जदेखि २५० किलोमिटर टाढा रहेको भारतको बरौनी पुगेर पेट्रोल ल्याउँदा प्रतिट्याङ्कर २० हजार लिटर पेट्रोलका लागि ४ सय लिटर डिजेल खर्च हुने गरेको छ  । साथै पेट्रोल लिनका लागि बरौनी पुगेका नेपाली गाडीहरूले भारतीय दूतावास, बिहार सरकारको अनुमति लिनुपर्ने, अनेकन् शुल्क, सवारी चालक र सहयोगीको खाने बस्ने खर्चका कारण सवारी धनीको मात्रै दैनिक ५ हजार खर्च हुने निगमको भनाई छ । 

तेलको अवैध चोरी, तेल उडेर जानेलगायतका समस्या समाधानका लागि पनि पाइपलाइनबाट तेल ल्याउन सके खर्च धेरै कम हुने प्रमुख उपाध्यायको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्