साम्पाङलाई आक्रोशित बनाउने यस्तो छ प्राधिकरणको निर्णय
काठमाडौ।नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको छ।

सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययन समितिले सो निष्कर्ष निकालेको हो।
प्राधिकरणको सूचनामा तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा नजिकको अर्को विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने भएकोले धरानमा विमानस्थल उपयुक्त नहुने उल्लेख छ । यस्तै भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने, सडक यातायातको सहज उपलब्धताका कारण हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको लगायतका कारण धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा पुगेको प्राधिकरणले जनाएको छ ।
सो क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने प्राधिकरणको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
प्राधिकरणको यस्तो निर्णयले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भने आक्रोश व्यक्त गरेका छन् ।सामाजिक सञ्जालमा उनले लेखेको छन्- ‘तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ ! ज्यादा नखोक् ! संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु…’

