लघुबित्त पीडितको संसद भवन प्रवेशको तरंग : ३२ प्रहरी प्रधान कार्यालयमा फिर्ता
काठमाडौं । संघीय संसद् भवनको सुरक्षामा खटिएका ३२ जनालाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ ।

प्रहरी निरीक्षकको कमान्डमा खटिएका उनीहरूलाई आज फिर्ता बोलाएर अर्को टोली पठाइएको प्रहरी प्रवक्ता डीआईजी भीम ढकालले जानकारी दिए।उच्च सुरक्षाका बाबजुद आज दिउँसो लघुवित्त पीडितहरू नयाँ बानेश्वरस्थित संसद् भवन छिरेका थिए । संसद् भवनको चारैतिर तैनाथ गरिएको सुरक्षा घेरा तोडेर उनीहरू भित्र छिरेका थिए ।
प्रहरीका अनुसार गेटमा भित्रबाट बोलाएको भन्दै सुरक्षाकर्मीलाई झुक्काएर उनीहरू भित्र छिरेका थिए । गेटभित्र छिरेपछि नाराजुलुस गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
यस विषयमा सभामुख देवराज घिमिरे र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि तीनवटै सुरक्षा निकायका प्रमुखसँग चासो राखेका छन् ।
उता,उक्त घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ। समितिको सदस्यमा काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे छन्।

