प्रसूति गृहबाट हराएको शिशुको सकुशल उद्दार,तीन जना पक्राउ



काठमाडौँ। काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हिजो दिउँसो चोरी भएको शिशुको प्रहरीले सकुशल उद्धार गरेको छ ।

जिल्ला प्रहरी परिसर,काठमाडौँका अनुसार शिशुको चोरी गर्ने दैलेखकी २४ वर्षीया मनीषा सिंह सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनिषाकी दिदी र श्रीमानसमेत छन् ।प्रहरीले सीसीटिभी फुटेजका आधारमा काठमाडौँको काँडाघारीस्थित सनसिटी अपार्टमेन्ट क्षेत्रबाट शिशुको उद्धार गरी चोरी गर्ने महिलासहित तीनजनालाई पक्राउ गरेको हो ।

काभ्रे घर भई काठमाडौँ बस्दै आएकी सविना श्रेष्ठको २६ दिने शिशु शुक्रबार दिउँसो प्रसुतिगृहबाट चोरी भएको थियो।शिशुको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार पछि बालिकाको परिवारको जिम्मा लगाइएको छ ।

बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो।मनिषाका पति नेपाली सेनामा कार्यरत रहेको बताईएको छ।बिहे गरेको तीन बर्षसम्म पनि बच्चा नभएपछि मनिषाले बच्चा चोरी गरेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्