त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.बराल नियुक्त .
काठमाडौं।त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा.केशरजङ्ग बराल नियुक्त भएका छन्।

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ ।
उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
दिल्ली युनिभर्सिटीबाट विद्यावावारिधी (पीएचडी) को उपाधि प्राप्त गरेका बराल हाल विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्मा विशेषज्ञको रूपमा काम गर्दै आएका छन् । साढे दुई वर्षदेखि उनी विज्ञको रूपमा काम गर्दै आएका हुन् ।

