कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रतिबेदन माथि आजबाट समूहगत छलफल सुरु हुँदै
ललितपुर।नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन आजबाट प्रस्तुत पाँचवटा प्रतिबेदनमाथी समूहगत छलफल सुरु हुने भएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठकको दोस्रो दिन मंगलबार पाँच वटा प्रतिवेदन पेश गरिएका थिए।प्रतिबेदन माथी विभिन्न चार समूहमा छलफल गरिने प्रचार प्रसार उपसमितिका संयोजक मीन बिश्वकर्माले जानकारी दिए।बिश्वकर्माका अनुसार गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बीनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ।

मंगलबारको बैठकमाउपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्का,महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्मा,कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महत र श्याम घिमिरेले प्रतिवेदन प्रस्तुत गरिएको थियो। उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराहरूको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताउनुभयो । जिम्मेवार नेपाली कांग्रेस ः समुुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलीत समयन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भुमिका बिचार र नीति निर्णायक रहँदै आएको छ ।”
महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव पेश गर्दै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौं । अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौं ।”
महामन्त्री थापाले कांग्रेसलाई लोकतन्त्रमा आस्थावानहरूको एकमात्र विश्वासीलो र आम जनताको भरपर्र्दो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । महामन्त्री थापाले एक विशिष्ट परिस्थितीमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलिय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको उल्लेख गर्नुभयो । महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी संगठनलाई बलियो बनाउने बताउनुभयो ।
महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदन प्रस्तुत गर्ने क्रममा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गर्नुभयो । उहाँले संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधान नै सबै चुनौतीको हल गर्दै मुलुकलाई समुन्नतीको उचाईंमा पुरा¥याउने भरपर्दो माध्याम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट भएको बताउनुभयो । महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ–“पटक पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलव्धी हासिल भएको छ तर, पनि असन्तुष्टी र चुनौतीहरू बढ्दै गएको देखिन्छ ।”
प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गर्नुभएको छ । एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार कांग्रेसको रहेको बताउनुभएको छ ।
कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले लोकतान्त्रिक समाजवादको आर्दशलाई कांग्रेसले आत्मासाथ गर्ने बताउनुभयो । उहाँले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सिर्जना तथा सामाजिक सुरक्षाको प्रत्याभुति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको जानकारी दिनुभयो । २०७७ असार मसान्तमा बैंक तथा वित्तिय प्रणालीमा ३२१० अर्बबाट वृद्धि भई कर्जा प्रवाह ०७९ असार मसान्तसम्म ४६२१ अर्ब पुगेको डा। महतले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । उहाँले अर्थतन्त्रलाई गतिशिल बनाउन पहल भइरहेको बताउनुभयो । अर्थतन्त्रमा चुनौती कायमै रहेपनि समिष्टिगत आर्थिक परिसूचकमा क्रमश सुधार हुँदै गएको उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।
त्यसैगरी लेखा समिति संयोजक श्याम घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण, शुल्क रहेको जनाउनुभएको छ । कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ संगठन, ह्रास तथा अपलेखनमा खर्च हुने गरेको पनि लेखा समिति संयोजक घिमिरेले प्रतिवेदनमार्फत जानकारी गराउनुभएको छ ।

