तरुण दललाई आरजु राणा देउवाकै चिन्ता



काठमाडौँ।नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोप लाग्ने बित्तिकैदेखि कांग्रेस नेत्री आरजु राणा देउवाको बचाउमा उत्रिएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले फेरि पनि उनको पक्षमा अर्को बिज्ञप्ति प्रकाशित गरेको छ।तरुण दलद्वारा शुक्रबार जारी बिज्ञप्तिमा सभापति शेरबहादुर देउवापत्नी तथा पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउँने दुराशय राखी सामाजिक सञ्जालमामा प्रसारित तथा प्रचारित झूठा र अनर्गल पोष्ट गरिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

अध्यक्ष विद्वान गुरुङद्वारा जारी विज्ञप्तिमा कानुको बर्खिलाफ हुने गरी कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजुको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति जनाइएको छ ।

‘राजनीतिक पूर्वाग्रह राखी उक्त कार्यमा संलग्न घृणित र अवाञ्छित मनोवृत्तिका व्यक्ति वा समूहहरूलाई तीन दिनभित्र कानुनको दायरामा ल्याउन नेपाल तरुण दल केन्द्रीय समिति गृहमन्त्रालय र सम्बन्धित प्रहरी प्रशासनलाई जोडदार माग गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

तरुण दलको आग्रहलाई बेवास्ता गरी कानुन विपरीत कार्यमा संलग्नलाई कारबाही गर्न आलटाल गरे तरुण दल आफैँ प्रतिकारमा उत्रने गुरुङले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्