बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, सिलिन्डरको १३० रुपैयाँले घट्यो ग्याँस

काठमाडौं।सरकारले पेट्रोल,डिजेल,मट्टीतेलको मूल्य बढाएको छ भने खाना पकाउने ग्यासको घटाएको छ।

मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको जानकारी दिएको हो। त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको निगमले जनाएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ। ग्यासमा भने प्रतिसिलिन्डर ११७ रूपैयाँ ६२ पैसा घटाएर पठाएको छ।
निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको भाउका लागि तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५० रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७२ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५२ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७३ रूपैयाँ प्रतिलिटर पर्नेछ।त्यस्तै डिजेल र मट्टीतेल १५३ रूपैयाँ पर्नेछ।
ग्यासको भाउ घटेर एक हजार ६ सय ६० रूपैयाँ कायम भएको छ।हवाई इन्धनको भाउ भने यथावत छ।

