कोशीमा सरकार गठनका लागि दावी पेश गर्ने आज अन्तिम दिन
बिराटनगर।कोशीमा नयाँ सरकार गठनका प्रदेश प्रमुखले दिएको समयसीमा आज ५ बजे सकिँदैछ।

प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि गत शुक्रबार दलहरूलाई पाँच दिनको समय दिएका थिए।प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न मंगलबार अपराह्न ५ बजेसम्मको समय दिएका हुन्।
यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै सर्वोच्च अदालतले साउन १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आह्वान गर्न गत बिहीबार आदेश दिएको थियो।
सत्तारुढ गठबन्धनले बहुमत पुर्याएर मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले ४७ मत जुटाएर मुख्यमन्त्रीका लागी दाबी गर्ने तयारी गरेका हुन्।
शनिबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरू सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउन सहमत भएका थिए। कोशीमा सत्तारुढ गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्र (सभामुखसहित) का १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन्।
प्रमुख प्रतिपक्षीतर्फको नेतृत्वमा भने एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन्।

