४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाको प्रतिबन्धमा महानगरको कडाई
काठमाडौं।काठमाडौं महानगरपालिकाले आज साउन १४ गते आइतबारदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलाको प्रयोगमा कडाइ गर्ने भएको छ । महानगरले आजदेखि त्यस्ता झोलाको उत्पादन, आयात र बिक्री वितरण गरे जफत गर्ने भएको हो ।

यो कार्यका लागि महानगरको वातावरण व्यवस्थापन विभागले महानगरका करिब ५० जना प्रहरी निरीक्षकलाई तालिम दिइसकेको छ । तालिमप्राप्त महानगर प्रहरीले माइक्रोन मापन मेसिनसहित अनुगमन गर्नेछन् ।
महानगरले गत साउन १ गतेदेखि नै लागू हुने गरी ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्प गुच्छा तथा मालामा प्रतिबन्ध लगाइसकेको थियो ।
यद्यपि, त्यसको प्रभावकारी कार्यान्वयन गर्न आजदेखि नगर प्रहरी नै परिचालन गरेर त्यस्ता सामग्री जफत गर्न लागिएको हो ।साउन १ गतेदेखि नै प्रहरी टोली परिचालन गर्ने महानगरको तयारी गरेको भए पनि आजदेखि भने प्रभावकारी कार्यान्वयन गर्न लागेको छ । यसका लागि वडा अध्यक्षको समन्वयमा अनुगमन गर्ने क्षेत्र तय गरी पूर्ण रूपमा अनुगमन प्रारम्भ हुँदैछ ।
यसअनुसार आजदेखि सबै वडामा मेसिनसहितको टोली परिचालन हुनेछन्, ४० माइक्रोनभन्दा पातला प्लास्टिक तथा पुष्पगुच्छा र माला बिक्री वितरण गरेमा तत्काल जफत गरिने छ ।

