कुन प्रदेशले कतिको ल्याए बजेट ?
काठमाडौं।असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्थाअनुसार सातैवटा प्रदेशहरूले बजेट सार्बजनिक गरेका छन्।संघीय सरकारको जस्तै कर्णाली प्रदेश बाहेक अन्य प्रदेशहरुलेगत वर्षको भन्दा घटाएर सार्वजनिक गरेका छन्।

सातवटै प्रदेश सरकारले कृषि, पर्यटन र स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन्।
सातै प्रदेशको बजेट करिब २ खर्ब ७९ अर्ब ५७ करोड रुपैयाँ छ। ६ वटा प्रदेशले शुक्रबार बजेट सार्वजनिक गरेका हुन् भने अल्पमतमा रहेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बिहीबार नै बजेट सार्वजनिक गरेको थियो।आगामी आर्थिक वर्षका लागि सबैभन्दा धेरै बजेट बागमती प्रदेशको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशले ल्याएको छ।
सबैभन्दा धेरै बजेट सार्वजनिक गरेको बागमती प्रदेशको ६२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। दोस्रो धेरै बजेट मधेश प्रदेशको ४४ अर्ब ११ करोड रुपैयाँ रहेको छ। त्यसपछि क्रमशः लुम्बिनी प्रदेशको ४० अर्ब ४७ करोड, कोशी प्रदेशको ३६ अर्ब २४ करोड, गण्डकी प्रदेशको ३३ अर्ब ४२ करोड, कर्णाली प्रदेशको ३३ अर्ब ३७ करोड र सबैभन्दा कम बजेट विनियोजन गरेको सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड रुपैयाँ छ।

