संखुवासभाको चिचिलामा कृषि तथा पशुपंक्षी मेला सम्पन्न



डिल्ली शर्मा,संखुवासभा।कृषि क्षेत्रलाई ब्यबसायिक,प्रतिस्पर्धी र पालिकाको दीगो आयश्रोतको माध्यम बनाउने उद्देश्यका साथ संखुवासभाको चिचिला गाउँपालिकामा एकदिने कृषि तथा पशुपंक्षी मेला प्रदर्शनी सम्पन्न भएको छ।

चिचिला गाउँपालिकाको पालिका भवनमा आयोजना गरिएको कृषि तथा पशुपंक्षी मेलामा आ–आफ्ना मेहनतका उत्पादन प्रदर्शन गर्न पाउँदा खुसी लागेको बताउनुहुन्छ चिचिला गाउ पालिका वार्ड नं चारका कृषक भुवनसिं गुरुङ्ग ।आफुले ल्याएको कृषि उपजले स्थान प्राप्त गर्दा लडाई जितेको महशुस भएको बताउनुहुन्छ अर्का कृषक चिचिला तीनका शुक्र साङपाङ राई ।

कृषकहरुको उत्पादनलाई बजारसंग जोड्न र कुन स्थानमा कुन खेती उपयुक्त हुन्छ भन्ने कुराको जानकारी समेत मेलाबाट प्राप्त हुने भएकोले कृषि तथा पशुपंक्षी मेलाले योजना निर्माणमा समेत सहयोग पुगेको चिचिला गाउँपालिका वार्ड नं ४ का वडाध्यक्ष बालकुमार गुरुङ्गले बताउनुभयो ।वहाँले कृषकहरुको माझमा स्वस्थ प्रतिस्पर्धाबाट कृषि उत्पादनमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

प्रदर्शनीमा नगदे बाली समुह , फलफुल बाली, रैथाने बाली, मौरी ,लोकल कुखुरा तथा हाँस समुह भेडा, बाख्रा, भैसी गाईगोरु समुह लगायत सोह्र समुह बिधामा राखेर उत्कृष्ट कृषक उत्पादनको छनोट गरिएको थियो । उत्कृष्ट कृषकहरुलाई नगद तथा प्रसंसा पत्र समेत बितरण गरिएको थियो । कार्यक्रम समापन समारोहमा आफ्ना भनाई राख्दै प्रमुख अतिथि चिचिला गाउँपालिकाका निबर्तमान उपाध्यक्ष यदुमाया राईले कृषि पेशा पेशा मात्र नभई सेवा पनि भएको तर जंगली जनावरको प्रकोपले जोखिम बढेको बताउनुभयो।

चिचिला गाउँपालिका अध्यक्ष पासाङ्गनुर्बु शेर्पाको सभापतित्व कृषि ज्ञान केन्द्र संखुवासभाको समन्वय तथा कृषि सेवाकेन्द्र चिचिला गाउपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पालिका अध्यक्ष शेर्पाले कृषिलाई रोजगारीसंग जोड्न र संभाबनाको खोजी गर्न आफु तत्पर रहेको र चिचिला गाउंपालिकामा खेर गईरहेका जडिबुटीको संकलन,प्रशोधन तथा कृषि ब्यबसायीकरणको लागि योजना निर्माण गरिने बताउनुभयो ।
प्रदर्शनीमा ५२ जना कृषकका दुई सय चवालीस कृषि उपजहरुको प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्