खुम्बु पासाङल्हामु : छुमामा आरसीसी पुल निर्माणको काम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं.-३ को पर्यटकीय पदमार्ग छुमामा आरसीसी पुल निर्माणको काम सम्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले उपलब्ध गराएको ५ लाख तथा जनश्रमदान ७० हजार गरी कुल ५ लाख ७० हजार लगानीमा सो पुल निर्माण भएको हो । पर्यटकीय पदमार्ग भएकोले निर्धारित समयभन्दा अगाडि नै पुल निर्माण कार्य सम्पन्न गरिएको बेङ्कर छुमा टोल विकास संस्थाका अध्यक्ष सोनाम तेन्जिङ शेर्पाले जानकारी दिनुभयो ।
२०७९ को माघ २८ गतेबाट काम शुरु भएर छोटो अवधिमा गुणस्तरीय रुपमा काम सप्पन्न गर्न सफल भएको अध्यक्ष शेर्पाको भनाइ छ । उक्त पुल निर्माणबाट सगरमाथा क्षेत्रमा जाने पर्यटक, स्थानीय समूदाय, पर्यटकीय साधनका रुपमा प्रयोग हुँदै आएको जोक्पे, खच्चड, घोडा लगायत घर पालुवा जनावर आवतजावतमा सहज भएको भन्दै भने स्थानीयले खुशी व्यक्त गरेका छन् ।
यसैबीच खुम्बु पासाङल्हामु गाउँपालिकाबाट विनियोजित १ लाख ७२ हजार बेङ्कर ग्रीन हाउस शिर्षकको रकमबाट ग्रीन हाउस टनेला वितरण गरिएको छ । ग्रीन हाउस वितरण मापदण्ड पूरा गरेका १० घर परिवारका कृषकलाई वितरण गरिएको हो ।
सो ग्रीन हाउस खुम्बु पासाङल्हामु गाउँपालिका- ३ का वडा सदस्य कामी छिरिङ शेर्पा, छुमा बेङ्कर टोल विकास संस्थाका अध्यक्ष सोनाम तेन्जिङ शेर्पाको उपस्थितिमा एक कार्यक्रमकाबीच बितरण गरिएको टोल विकास संस्थाले जनाएको छ ।

