उपराष्ट्रपतिमा यादवको उम्मेदवारी विरुद्ध एमालेको उजुरी
काठमाडौं।चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्बाचनका लागि चार जनाको उम्मेदवारी परेको छ।निर्बाचन आयोगले उम्मेदवारी दर्ताका लागि तोकेको समयसीमा भित्र आज सत्ता साझेदार दलकै तर्फबाट तीन जना र एमालेका एक गरी चार जनाको उम्मेदवारी दर्ता भएको हो।

निर्बाचन आयोगका अनुसार उम्मेदवारी दर्ता गराउनेमा सत्तागठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य छिन्।उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवविरुद्ध भने
नेकपा एमालेले उजुरी दिएको छ।
राष्ट्रपतिमा खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्दै यादवविरुद्ध उजुरी दिइएको हो। यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको एमालेको जिकिर छ।
एमालेका तर्फबाट उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्ताैलाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिएका हुन्।

