आज राष्ट्रपति निर्बाचन, राप्रपाले भोट नहाल्ने
काठमाडौं।राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । सङ्घीय संसद् र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्माण गरिएको छ ।
राष्ट्रपति चुनावमा सङ्घीय संसद्का तीन सय ३१ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन् । सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेश सभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस आधारमा सबै सङ्घीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सभा सदस्यको २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ रहेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २६ हजार २ सय ७५ मतभार ल्याउनुपर्छ ।
यसैबीच,आज हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगर्ने निर्णय गरेको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठकले उक्त निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
‘राप्रपा मतदानमा सहभागी नहुने, तठस्थ बस्ने निर्णय भएको छ,’ प्रवक्ता श्रेष्ठले भने। भोलि राष्ट्रपतिको निर्वाचन हुँदैछ। राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ मैदानमा छन्। दुबै उम्मेदवारमा जतातिर लागे पनि राप्रपा निर्णायक नदेखिने भएकोले पनि राप्रपा मतदानमा सहभागी नहुने श्रेष्ठले बताए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यसबारे लामो छलफल भएको र सर्वसम्मत ढंगले मतदानमा सहभागी नहुने निर्णय भएको बताए। सैद्धान्तिक रुपमा आफ्नो पार्टीको राष्ट्रपति भन्ने संस्थासँग फरक मत रहेको उल्लेख गर्दै मत नहाल्ने निर्णय गरिएको लिङ्देनले बताए। राष्ट्रपतिका दुबै जना उम्मेदवार पार्टीबाट निर्वाचित भएकोले निष्पक्ष भूमिका निर्वाह हुनेमा आफूहरु विश्वस्त नरहेको लिङ्देनको भनाई थियो।

