गृह मन्त्रालय रास्वपालाई दिनेबारे यस्तो छ माओवादी केन्द्रको धारणा
काठमाडौं।सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले गृह मन्त्रालयबारे तत्काल निर्णय नहुने बताएका छन्।मंगलबारको पदाधिकारी बैठकमा भएको छलफलको निष्कर्ष सुनाउँदै महराले रवि लामिछानेको नागरिकता मुद्दामा अदालतबाट भएको फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयबारे थप निर्णय नहुने बताएका हुन्।

नागरिकता मुद्दामा दोषी ठहर भएका तत्कालीन गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाली नागरिकता पुनःप्राप्ति गरेका छन्। त्यसपछि उनले आफ्नै पार्टीलाई गृह मन्त्रालय दिनुपर्ने दबाब बढाएका छन्। लामिछानेको पक्षमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि छन्।
प्रधानमन्त्री प्रचण्डले भने लामिछानेको हकमा राहदानीको विषय पनि जोडिएकाले त्यसलाई पनि कुर्नुपर्ने बताएका छन्। मंगलबार बिहान बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भएको भेटमा पनि उनले रवि र राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिन नसकिने बताएका थिए।

