माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा दलहरूसँग राष्ट्रिय सहमति खोज्न पहल गर्ने



काठमाडौं।नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने भएको छ।शुक्रबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा राष्ट्रपति निर्वाचनमा दलहरूसँग राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय भएको हो।

पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले फागुन २५ देखि २८ गतेभित्र राष्ट्रपति चयनका लागि निर्वाचन हुने बताए।‘राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन गर्न पहल गर्ने कुराकानी भएको छ,’ उनले भने, ‘दलहरूसँग छलफल गर्छौं, कहाँ राष्ट्रिय सहमति हुन्छ।’

स्थायी समिति बैठकमा पार्टी एकतासम्बन्धी प्रतिवेदन उपाध्यक्ष महराले पेश गरेका छन् भने संगठनसम्बन्धी प्रतिवेदन उपमहासचिव जनार्दन शर्मा र स्कुलिङसम्बन्धी प्रतिवेदन गिरिराजमणि पोखरेलले पेश गरेका छन्।

उनकाअनुसार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायतसँग एकताका लागि वार्ता भइरहेकोबारे स्थायी समिति बैठकमा जानकारीसमेत गराइएको छ।

बिहीबारबाट सुरु भएको बैठक शुक्रबार १३ गते बसेर आगामी बैठक माघ १६ गतेसम्मका लागि स्थगित गरेको छ । माघ १६ गते ११ बजे बैठक बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्