आज सभामुखको निर्बाचन : हारजितको यस्तो छ अंक गणित



काठमाडौँ । प्रतिनिधिसभा सभामुखका लागि सत्तारूढ दल नेकपा एमाले र प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको संसद्कै ठूलो दल नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।

सभामुखको निर्वाचन बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुनेछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ ।

सभामुखका लागि एमालेले प्रतिनिधिसभा सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा घिमिरे झापाबाट निर्वाचित भएका थिए । कांग्रेसले सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । उनी समानुपातिक सांसद हुन् ।

घिमिरेको प्रस्तावक एमाले नेता सुवासचन्द्र नेम्वाङ छन् भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका नेता समर्थक छन् । कांग्रेसबाट उम्मेदवारी दिएकी न्यौपानेको प्रस्तावक कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थक नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला छन् ।

समग्रमा हेर्दा गठबन्धनका उम्मेदवार घिमिरेको पल्ला भारी देखिएको छ । प्रतिनिधि सभामा रहेका २७५ सांसदबाट बहुमतका लागि १३८ मत आवश्यक पर्नेमा उनको पक्षमा प्रस्ताव र समर्थन गर्ने पार्टी एमालेका ७९, माओवादी ३२, रास्वपाका २०, राप्रपा १४ गर्दा १४५ छन् । सत्ता गठबन्धनका यी चार दलकै मत पनि सहजै बहुमत पुग्‍ने देखिएको छ ।

प्रचण्ड सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) र जनमतले गठबन्धनमा असन्तुष्टि व्यक्त गरेका कारण प्रधानमन्त्रीको भन्दा कम मत सभामुखले पाउने देखिएको छ । जसपासँग १२ सांसद रहेका छन् । यद्यपि सभामुखको चुनावअघि मात्रै पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने जसपाका संसदीय दलका नेता रामसहाय प्रसाद यादवले जानकारी दिए ।

रोजेको मन्त्रालय नपाएपछि जनमत पार्टीले पनि गठबन्धनमा असन्तुष्टि प्रकट गरेको छ । सरकारमा सहभागी भएको दल जनमत पार्टीमा ६ सांसद छन् । अर्थात् यी दुई पार्टीका कुल १८ सांसदको मत कता जाने भन्ने अन्योल छ ।

चार सांसद रहेको नागरिक उन्मुक्ति पार्टी पनि असन्तुष्ट रहेको छ । तर, उसले गठबन्धनको पक्षमै मत हाल्ने बताइएको छ । तीनजना स्वतन्त्र सांसद छन् । जसमा दुई सांसदले प्रचण्डलाई समर्थन गरेका थिए ।अर्थात् गठबन्धनमा अहिलेको अवस्थामा चार दलका १४५ र नागरिक उन्मुक्ति र स्वतन्त्र गरी १५१ को समर्थन देखिन्छ ।

विपक्षी गठबन्धनमा कांग्रेसका ८९ सांसद छन् । तर, टेकबहादुर गुरुङ निलम्बनमा परेकाले ८८ सांसदले मात्रै भोट हाल्नेछन् । कांग्रेसलाई समर्थन गरेको दल एकीकृत समाजवादीका १० सांसद छन् । लोकतान्त्रिक समाजवादी (लोसपा)ले पनि कांग्रेसलाई समर्थन गर्ने भएको छ । अहिलेकै अवस्थामा कांग्रेसकी उम्मेदवार न्यौपानेको पक्षमा १०२ मत देखिन्छ ।

राष्ट्रिय जनमोर्चा र नेमकिपाका १-१ सांसद छन् । उनीहरू तथस्त बस्‍ने सम्भावना रहेको छ । त्यस्तै, १ स्वतन्त्र सांसद कतै खुलेका छैनन् । यसरी हेर्दा कांग्रेसलाई सत्ता गठबन्धनमा असन्तुष्ट रहेका जसपा, जनमत र अरू पार्टीका सांसदसमेत जोड्दा पनि बहुमत पुग्ने देखिँदैन । सबै जसपा, जनमत, राजमो र नेमकिपाले कांग्रेसलाई मत दिए पनि १२३ मात्रै हुन्छ । असन्तुष्ट सबै घिमिरेको विपक्षमा रहेपनि सभामुखमा बराबरी गर्न कांग्रेससँग २२ भोट कम हुने देखिन्छ ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशम्शेर जबराले बैठक सञ्चाजन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्