नेलेका आगलागी पीडितलाई गाउँपालिकाले गर्यो आर्थिक सहयोग
सोलुखुम्बु। थुलुङदुधकोशी गाउँपालिकाले वडा नं-१ नेलेका आगलागी पीडितहरुलाई प्रतिपरिवार ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ।

पुस ५ गते भएको आगलागी पीडितहरुलाई गाउँपालिका अध्यक्ष असिम राईले घटनास्थलमै पुगेर आर्थिक सहयोग उपलब्ध गराएका हुन।अध्यक्ष राईले आगलागीका कारण पुर्ण क्षति हुने प्रति परिवारलाई ५० हजार र आंशिक क्षति हुने प्रति परिवारलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको पालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।
पुस ५ गते वडा नं १ को साप्ताहिक हाट नेले बजारमा आगलागी हुँदा चार घर पुर्णरुपमा नष्ट भएको थियो । उक्त घटनामा कल्पना बस्नेत, रमेश बस्नेत, वुद्विबहादुर कार्की र गणेश बस्नेतको घर जलेर पुर्णरुपमा क्षती भएको थियो भने प्रनय राई को घरमा आंशिक क्षति भएको थियो ।
उक्त घटनाप्रति गाउँपालिका अध्यक्ष राईले दुख व्यक्त गर्दै पोलेको घाउमा पालिकाले मलम लगाउने काम गरेको बताए। पीडित परिवारलाई थप सहयोग जुटाउन आफुले सक्दो पहल गरिरहेको जानकारी दिंदै अध्यक्ष राईले कठिन परिस्थितिमा आवश्यक पर्ने सहयोग गर्न सबैलाइ अपिल समेत गरे।
राहत वितरणमा पालिका उपाध्यक्ष सविता राई, पालिका प्रवक्ता भोजराज कार्की, वडा नम्बर एकका वडा अध्यक्ष घनराज सुनुवार, प्रशासकीय अधिकृत केडि कुलुङ लगायतको उपस्थिति रहेको थियो ।

