सिराहाको मिर्चैयामा शिक्षिकाले पानीको सट्टा स्प्रीट दिएपछि…



काठमाडौं । सिराहाको मिर्चैयामा पानीको सट्टा स्पिरिट खाएर छात्राको मृत्यु भए पछि विद्यार्थी र आफन्तहरु आन्दोलित भएका छन् । शिक्षिकाले पानीको सट्टा स्पिरिट दिएको सगरमाथा उच्च माविका विद्यार्थीहरुले आरोप लगाएका छन् ।

कक्षा ८ मा अध्ययनरत छात्रा सिर्जना कुमारी महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सिरहा नगरपालिका–११ भलुवारीकी स्थानीय हुन् । महराले विद्यालयमा औषधी खान शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । शिक्षिकाले माउन्टेन ड्युमा रहेको स्पिरिट पानी सम्झेर दिइन् । बोतलको स्पिरिट पिएसँगै छात्रा बेहोस भएकी थिइन् ।

उनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा उनको मृत्युभएको हो । विद्यार्थी र आफन्तहरुले शिक्षिकाको लापरवाहीले सिर्जनाको मृत्यु भएको भन्दै आन्दोलन सुरु गरेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । आन्दोलनका कारण मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ ।

प्रहरीले घटनाको बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्