थुलुङदुधकोशी : देउसामा जुस तथा जाम बनाउने सात दिने तालिम सुरु



सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ७ मा जुस तथा जाम बनाउने तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडा कार्यालयको समन्वयमा सात दिने उक्त तालिम सुरु भएको हो ।

वडाध्यक्ष भोजराज कार्कीको प्रमुख आतिथ्यतामा सुरु भएको तालिममा ३५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रमलाई संबोधन गर्दै पालिका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष कार्कीले सीप सिकाएर दक्ष जनशक्ति निर्माण गर्दै समृद्ध गाउँपालिका निर्माणको अभियानमा रहेको बताउनुभयो ।

तालिम आयोजनामा सहयोग गर्ने घरेलु कार्यालयलाई धन्यवाद दिदै अध्यक्ष कार्कीले थप सीप संगै उद्यम सञ्चालनको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

थुलुङदुधकोशी गाउँपालिका कृषि एम्बुलेन्स खरिदको चरणको रहेको जानकारी दिदै ढक्क भएर लगानी गरि उत्पादकत्वमा वृद्धि गरि आयआर्जनमा अगाडी बढ्न आग्रह गर्नुभयो । निवर्तमान वडा अध्यक्ष रामसंघर्ष किराँतीले समयअनुसारको कार्यक्रम आयोजना गरेको प्रति खुसी व्यक्त गर्दै स्थानीय सरकार तथा घरेलु कार्यालयलाई धन्यवाद दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय सोलुुखुम्बुका प्रमुख संगिता राईले सहभागीबाट प्रशिक्षकको साथै उद्यमी समेत बनेको हेर्न चाहेको बताउँनुभयो । वडा कार्यालयको माग अनुसार कार्यक्रम सञ्चालन गरिएको भन्दै स्थानीय सरकारबाट उद्यमीका लागि सहयोग हुने पुर्ण विश्वास रहेको पनि बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्