राष्ट्रिय वाणिज्य बैङ्कका पाँच शाखा कार्यालयको एकै पटक उद्घाटन



काठमाडौँ / राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको एकै पटक पाँच ओटा शाखा कार्यालयको उद्घाटन गरिएको छ ।

बैङ्कको १ नम्बर प्रदेशस्थित शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी, मधेस प्रदेशस्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेशस्थित शाखा कार्यालय रसुवाको शनिबार उद्घाटन गरिएको हो । यसपछि बैङ्कको देशभर २६४ ओटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

शाखा कार्यालय ताप्लेजुङ्गको बैङ्क सञ्चालक दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुमको म्याग्लुङ्ग नगरका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारीको झापा १ ‘ख’का प्रदेश सांसद माननीय गोपाल तामाङ्ग, शाखा कार्यालय मलगंवाको सर्लाही २ ‘ख’का प्रदेश सांसद माननीय कौशल किशोर दास र शाखा कार्यलय रसुवाको रसुवा ‘ख’का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिबार अगल अलग कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैङ्कले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैङ्किङ्ग सेवा प्रवाह गरिरहेको बताए ।

शाखा कार्यालयको उद्घाटनमा बैङ्कतर्फबाट बैङ्क सञ्चालक प्रा.डा.राजनबहादुर पौडेल र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ शाखा कार्यलय धुवलावारीमा, बैङ्क सञ्चालक लक्ष्मण घिमिरे र नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल शाखा कार्यालय रसुवामा, नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी शाखा कार्यालय मलगंवामा, उपकार्यकारी अधिकृत पवन रेग्मी शाखा कार्यालय ताप्लेजुङ्गमा र उपकार्यकारी अधिकृत विनयरमण पौडेल शाखा कार्यालय तेह्रथुममा सहभागी भएका थिए ।

शाखा कार्यालयहरूको उद्घाटन समारोहमा जनप्रतिनीधि, राजनितिक दलका प्रतिनिधि, सेना, प्रहरी, उद्योगी, व्यवसायी, कर्मचारीहरूलगायतको भव्य उपस्थिति रहेको थियो ।

बैङ्कको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखारहित बैङ्किङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्