गौरीटाप सहकारीको बार्षिकोत्सवमा स्वर्गीय सेयरधनीको परिवारलाई राहतकोष प्रदान



सोलुखुम्बु।गौरीटाप बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारण सभाका अवसरमा तीन घर परिवारलाई सामाजिक राहत कोष प्रदान गरिएको छ ।

शनिबार आयोजित सहकारीको २७ औं साधारण सभामा सहकारीका स्वर्गीय सेयर सदस्य सुमि शेर्पाको परिवारलाई ८६ हजार रुपैयाँ, स्वर्गीय इन्द्रकुमार कार्कीको परिवारलाई एक लाख रुपैयाँ र स्वर्गीय निरकुमारी कार्कीको परिवारलाई सात हजार आठ सय रुपैयाँ प्रदान गरिएको संस्थाले जनाएको छ ।

यस्तै संस्थाका उत्कृष्ट सात जना सेयर सदस्यहरुलाई सम्मान गरिएको छ । सेयर सदस्य कमला विश्वकर्मा, कृजीयन र क्रीयन राई, योगेश श्रेष्ठ, गेल्छीरी शेर्पा, आङफूर्वा शेर्पा, खेमराज बस्नेत र मिना कार्की बस्नेतलाई चादीको सिक्काको साथमा प्रशंसा पत्र प्रदान गरि दोसल्ला ओढाइ सम्मान गरिएको संस्थाका अध्यक्ष रामचन्द्र कार्कीले जानकारी दिनुभयो ।कार्यक्रममा आठ जना गरिव तथा असहायहरुलाई कम्बल समेत वितरण गरिएको थियो।

अध्यक्ष कार्कीले भावी दिनमा सहकारीलाई सक्रिय बनाइ सेयर सदस्य बढाउनमा जोड दिने बताउनुभएको छ । हालै उद्धघाटन गरिएको सहकारी कृषि बजारको प्रभावकारी ढंगले सञ्चालन गर्दै अघि बढ्ने योजना बनाएको साथै स्थानिय उत्पादनलाई बढावा दिदै आम्दानिको श्रोत बनाएर आयआर्जनमा थप टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

साधारणसभामा वार्षिक १२ करोड भन्दा बढिको कारोबार भएको तथ्यांकमा सार्बजनिक गरिएको थियो ।आर्थिक वर्ष ०७८/०७९ मा सहकारीको नौ करोड रुपैयाँ भन्दा बढि बचत रहेको छ भने करिव पाँच करोड रुपैयाँ ऋण लगानी रहेको गौरीटाप बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका अनुसार दश करोड बचत संकलन, करिव ६५ लाख सेयर पूँजी साथै १२ सय सेयर सदस्यहरु रहेका छन ।

कार्यक्रम गौरीटाप बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष कार्कीको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धी माया तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न हो ।

प्रतिक्रिया दिनुहोस्