अर्थमन्त्री शर्माले दिए राजीनामा
काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले आज बुधवार राजीनामा दिनुभएको हो ।

उहाँले प्रतिनिधि सभामा सम्बोधन गर्दै राजीनामा दिनुभएको हो । उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो ।
यश अघि सरकारले अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको थियो ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीलाई लगाइएको आरोपमा छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको जानकारी दिएका छन्। समितिमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरु सदस्य रहेका छन्।
सभामुख सापकोटाका अनुसार समितिमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला कुमारी यादव, सीताराम महतो, सुरेन्द्रप्रसाद यादव सदस्य रहेका छन्।
समितिले आफै संयोजक तोक्नसक्ने पनि सभामुखले जानकारी दिएका छन्। समितिले आवश्यक देखेमा सम्बन्धित अन्य व्यक्तिको सहयोग लिन सक्ने व्यवस्था गरिएको छ । समितिलाई सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

