जिम्मेवार भएर निष्पक्ष ढंगले समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई मेयर शेर्पाको आग्रह
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले मिडियाले स्वतन्त्र र निष्पक्ष ढंगले सूचना प्रवाह गर्नुपर्ने बताउनुभएको छ।

पत्रकार महासंघ सोलुखुम्बुले आयोजना गरेको स्थानीय तह निर्वाचनमा निर्वाचित प्रमुख तथा उपप्रमुखलाई सम्मान कार्यक्रममा बोल्नुहुँदै शेर्पाले राज्यको चौथो अंगका रुपमा लिइएको पत्रकारिता क्षेत्रले मुलुकको विकास र संवृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने भएका कारण उसको निष्पक्षता आवश्यक रहेमा जोड दिनुभएको हो।
आफु आवद्ध नभएको दलले गरेका राम्रा कुरालाई ढाकछोप गर्ने र नराम्रो कुराको मात्र बढी प्रचार गर्ने संस्कार संचारकर्मीहरुमा हावी हुँदै गएको गुनासो गर्दै वहाँले यस्ता कार्यले सञ्चारमाध्यको बिश्वसनियता माथि प्रश्न उठ्ने बताउनुभयो।उहाँले जिम्मेवार भएर पूर्वाग्रहरहित ढंगबाट समाचार सम्प्रेषण गर्न सन्चारकर्मीहरुलाई आग्रह पनि गर्नुभयो।
राम्रो कामको समर्थन गर्दै विकृति र विसंगतिको विपक्षमा कलम अघि बढाएमा समाज सहि दिशातिर अघि बढ्ने मेयर शेर्पाको भनाई थियो ।

