लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कांग्रेस सभापति थापाको माग
काठमाडौं,८ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘उच्चस्तरीय जाँचबुझ आयोग’ (लाल आयोग) को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

२०७३ सालमा तराई-मधेस र थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाहरूको छानबिन गर्न गठित सो आयोगको प्रतिवेदन एक दशक पुग्न लाग्दासमेत सार्वजनिक नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सभापति थापाले विगतमा राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउने तर सरकारमा पुगेपछि त्यसलाई बिर्सने प्रवृत्ति देखिएको भन्दै आत्मालोचना समेत गरेका छन् ।
‘२०७४ सालदेखि लगभग हरेक वर्ष यसरी नै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको छ,’ फेसबूकमा सभापति थापाले लेखेका छन्,’हरेक पटक हामी राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनायौं, तर सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न सकेनौं ।’
प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको वास्तविक सत्यतथ्य बाहिर आउन नसकेको र पीडितहरूले न्याय पाउन नसकेको उनले उल्लेख गरे ।
विगतका सरकारको कमजोरीलाई देखाएर अब यो विषयलाई अझै अल्झाउन नहुनेमा उनले जोड दिएका छन् ।
‘अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस् । विगतको कमजोरी आज पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बन्न सक्दैन र बन्नु हुँदैन । यसपटक यो विषय प्रतिबद्धतामा मात्र सीमित नहोस् ,’ उने भने ।
नागरिकको ‘सत्य जान्ने अधिकार’ र पीडितको ‘न्याय पाउने अधिकार’ लाई सम्मान गर्दै सरकारले पारदर्शिता देखाउनुपर्ने माग थापाको छ ।
गिरिशचन्द्र लालको अध्यक्षतामा गठित सो आयोगले २०७४ सालमै सरकारलाई प्रतिवेदन बुझाए पनि हालसम्म गृह मन्त्रालयमै थन्किएर बसेको छ ।

