प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणमा कुनै सहमति नगर्ने गठबन्धनका नेताहरुबीच सहमति
काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाँदा कुनै सम्झौता नगर्ने सहमति गठबन्धनका शीर्ष नेताहरूले गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई सदर गर्दै सो सहमति गरेको बताईएको छ।
अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाएको छ।
प्रधानमन्त्रीले उक्त सुझावलाई पालना नगरी भ्रमणमा जाने निर्णय गठबन्धनबाट अनुमोदन गराएका हुन्।
बैठकमा नेकपा एकीकृत समाजवादीबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने पार्टी निर्णय कार्यान्वयन गर्ने विषय पनि उठेको थियो। बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरू क्रमशः शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, उपेन्द्र यादवलगायत सहभागी थिए।

