फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज उपलब्ध गराईने




काठमाडौं । सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई बूस्टर डोज दिने भएको छ । कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्ध पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागनु १ गतेबाट बूस्टर डोज दिइने जानकारी दिए ।

बूस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको उनले बताए । आफूले कार्यभार सम्हालेपछि भएका काम र भावी योजनाका बारेमा जानकारी दिर्दै मन्त्री खतिवडाले खोपको पहुँच नपुगेको स्थान र समुदायको पहिचान गरी प्रदेश र स्थानीय सरकारको नेतृत्वमा खोप दिइने उनले बताए।

त्यस्तै उनले खोप लगाएको क्यूआरकोड सहितको प्रमाण–पत्र स्थानीय तहबाट उपलब्ध गराउन शुरु गरिएको बताए । २०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भइसकेको र २०७९ बैशाख मसान्तसम्म लक्षित जनसंख्या सबैलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप प्रदान गर्ने लक्ष्य निर्धारण गरिएको उनले बताए ।

मन्त्री खतिवडाले हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० खोप प्राप्त भइसकेको र ३ करोड ४८ लाख २५ हजार ६०१ मात्रा खोप लगाएको जानकारी दिए । त्यस्तै आवश्यक खोपको मौज्दात सुनिश्चित गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्