मदिरा पिएर बबाल गर्ने सुदूरपश्चिम पृतना तालिम शिक्षालयका सेनानी शाही बर्खास्त
काठमाडौं( नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ।

२५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सेवाबाट बर्खास्त र एक महिना कैदको फैसला गरेको हो।
सैनिक स्रोतका अनुसार मेजर शाही कैद भुक्तान गरेर रिहा भइसकेका छन्।
सेनाले २२ कात्तिकमा भएको यस घटनाको अनुसन्धानका लागि २५ बाहिनीकै महासेनानीको कमाण्डमा तत्काल कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो। कोर्ट अफ इन्क्वाइरी टिमले स्थानिय, सेनाकै अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुतप्रमाण र मेजर शाहीको बयानपछि आफ्नो प्रतिवेदन बुझाएको थियो।
सैनिक उच्च स्रोतका अनुसार घटनाका दिन मेजर शाही नजिकको चिसापानी बजारमा आफ्नो वा ०१–००२६च ३४६१ नम्बरको गाडी चलाएर पुगेका थिए। उनले त्यहाँ पुग्नुअघि ब्यारेकमै अत्याधिक मदिरा सेवन गरेका थिए।
उनी चिसापानीस्थित लुक होटलका जानुपर्नेमा हर्कबहादुर रावलले संचालन गरेको संगम होटल पुगेका थिए। मेजर शाहीको संगम होटलका संचालक तथा त्यहाँ रहेका ग्राहकसँग भनाभन भएपछि उनी इलाका प्रहरी कार्यालय चिसापानीमा पुगेका थिए।
सैनिक प्रतिवेदन अनुसार इप्रकाका प्रहरी निरीक्षकलाई तत्काल होटल संचालकलाई कारबाही गर्न टोली खटाउन निर्देशन दिएपछि उनको अवस्था हेरेर हाल शिक्षालयमै फर्कन आग्रह गरिएको उल्लेख छ।
घटनास्थलको बयान जाहेरीमा नेपाल प्रहरीका निरीक्षकले हजुर अहिले त्यहाँ जाने अवस्था छैन्, समाजमा गलत असर पर्छ, भोली के गर्ने हो त्यही गरौला भन्ने आग्रहलाई बेवास्तागर्दै मेजर शाही त्यहाँबाट बाहिरीएका थिए।
इप्रकाबाट बाहिरीएका मेजर शाहीले त्यसपछि शिक्षालय फर्किएर डिउटीमा रहेका एकजनालाई हतियार सहित लिएर चिसापानी पुगेका थिए। प्रहरी र स्थानियले कोर्ट अफ इन्क्वाइरीमा मेजर शाहीले घटनाका दिन राती सर्वसाधारणमाथि हतियार तेर्साएपछि उनीमाथि कुटपिट भएको बताएका छन्।
मेजर शाहीको भनाई अनुसार उनी होटल लुकमा जानुपर्नेमा होटल संगम पुगेका थिए।
उनले साहुजीका बिषयमा सोध्दा आक्रमण भएको दाबी गरिएको छ।
यही घटनाको सेरोफेरोमा सोही संगम होटलका संचालक मेजर शाहीमाथि आक्रमणमा संलग्न रहेको दाबी गरिएको समूहले त्यसको दुईदिनपछि स्थानिय युवा भूपेन्द्र बडुवालको हत्या गरेको थियो।

